नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), एमाले अध्यक्ष केपी शर्मा ओली आ-आफ्नो दलबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघोषित भए पनि स्वतः ‘भावी प्रधानमन्त्री’का उम्मेदवार हुने नै भए, जो कमजोर संसदीय अंक गणितका बावजुद पनि सत्ता राजनीतिको खेलमा माहिर मानिन्छन् ।
यी चार नेताको निर्वाचन क्षेत्रको अवस्था कस्तो छ ? निर्वाचन क्षेत्रको पृष्ठभूमि, मतदानको विगतको प्रवृत्ति, दलीय संगठनको पकड र जेन जी आन्दोलनपछि बदलिएको मतदाताको मनोविज्ञानलाई आधार बनाएर हेर्दा चारै जना उम्मेदवारका आ-आफ्ना खालका चुनौती र अनुकूलताहरू छन् ।
प्रचण्डका तीन सहजता, तीन प्रतिकूलता
थापा, शाह र ओलीको तुलनामा रुकुम पूर्वमा प्रचण्ड बढी सुरक्षित देखिन्छन् । रुकुम पूर्वमा प्रचण्डले चुनाव जित्न सक्ने पहिलो महत्त्वपूर्ण कारण यो निर्वाचन क्षेत्र माओवादी जनयुद्धको आधार इलाका हो । रुकुम र रोल्पा माओवादी जनयुद्धका मुख्य आधार इलाका मानिन्थ्यो । संघीय नेपालको प्रदेश रचनासँगै रुकुम दुई जिल्लामा विभाजन भयो । रुकुम पश्चिम कर्णाली र रुकुम पूर्व लुम्बिनी प्रदेशमा पर्यो ।
दोस्रो कुरा – रुकुम पूर्व जिल्ला बन्नुअघि देखि नै यो क्षेत्रमा माओवादीले जित्दै आएको छ । यहाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यताका सबै चुनाव माओवादीले जितेको छ । गत आम निर्वाचनमा यहाँ ६ जना मात्र उम्मेदवार थिए । नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत प्राप्त गर्दा एमालेका कैलाशकुमार मल्लले आधाभन्दा कम ५ हजार २११ मत मात्रै प्राप्त गरेका थिए । नेपाली कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो भने रास्वपाको उम्मेदवार नै थिएन ।
यसपाली ११ उम्मेदवारमध्ये एमालेले प्रगतिशील–लोकतान्त्रिक पार्टीका सन्दीप पुनलाई समर्थन गरेको छ । कांग्रेसकी कुसुमदेवी थापा, रास्वापाका लखनकुमार थापा, विप्लव माओवादीका जुद्धबहादुर बुढा थप उम्मेदवार हुन् ।
तेस्रो – प्रचण्डको कदलाई भेट्ने उम्मेदवार नहुनुले उनलाई अनुकूल छ भन्न सकिने अवस्था छ । तर, प्रचण्डका लागि यहाँ चुनौती पनि छन् ।
जनार्दन शर्माको विद्रोहको प्रभाव, एमाले र प्रलोपाबीचको तालमेल सम्झौता र चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेताका रूपमा प्रचण्डप्रतिको अविश्वासनीयता उनका लागि चुनौती हुन् । एमालेले आफ्नो परम्परागत मत कायम राख्यो र जनार्दन शर्माको विद्रोहले माओवादीको उल्लेखनीय मत प्रभावित भयो भने प्रचण्डलाई अप्ठेरो पर्न सक्नेछ । ग्रामीण इलाका र मनोविज्ञानको कारण यहाँ जेन जी आन्दोलन र सामाजिक सञ्जालको प्रभाव भने कमै पर्ने अनुमान छ ।
ओलीका छ चुनौती, एक अनुकूलता
बारम्बार जितेको परम्परागत निर्वाचन क्षेत्र भए पनि झापा–५ केपी शर्मा ओलीका लागि सुरक्षित मान्न सकिँदैन । देशले फरक मोड पक्रिएको वा नयाँ राजनीतिक ‘ह्विम’ चलेको बेलामा झापा–५ को मतदान प्रवृत्ति प्रभावित हुने गरेको उदाहरण छ । नेकपा (माओवादी) जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधानसभा निर्वाचन– २०६४ मा ओली माओवादीका एक सामान्य कार्यकर्ता विश्वदीप लिङदेनसँग पराजित भएका थिए ।
यद्यपि, गत आम निर्वाचनमा ओलीले भारी मतले जितेका थिए । गत निर्वाचनमा यहाँ २५ जना उम्मेदवार थिए । नेपाली कांग्रेससँगको गठबन्धनको कारण माओवादीका उम्मेदवार भने थिएनन् । एमाले र राप्रापाबीचको तालमेलका कारण राप्रपाले उम्मेदवारी दिएन । हजार मत कटाउने साना दलको हैसियतमा जनमत पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थिए ।
ओली ५२ हजार ३ सय १९ मत प्राप्त गरी विजय हुँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारले २३ हजार ७ सय ४३ र रास्वपाका सुरेश कुमार पोख्रेलले ११ हजार ८ सय ५९ मत प्राप्त गरेका थिए ।
यसपटक १५ दलीय र ९ स्वतन्त्र गरी २४ उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका पनि उम्मेदवार मैदानमा खडा भएको हुँदा मत–गणित गत निर्वाचनको भन्दा फरक हुने निश्चित छ । यसपटक झापा–५ मा ओलीका लागि कम्तीमा आधा दर्जन चुनौती छन् ।
एक – यो भारी मत स्वीङ हुन सक्ने शहरीया तथा युवा मतदाता भएको क्षेत्र हो । यहाँ सामाजिक सञ्जालको प्रभाव अवश्य पर्छ । जेन आन्दोलनपछि भोट ओलीविरुद्ध स्वीङ हुनसक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन । यसपटक ओली जेन जी आन्दोलनमाथि दमन गरेको आरोपबीच चुनाव लड्दै छन् ।
दोस्रो – राप्रपासँग गठबन्धन नहुनु ओलीको अर्को चुनौती हो । एमाले र राप्रपबीच अहिलेसम्म घोषित गठबन्धन वा तालेमल भएको छैन । गत निर्वाचनमा ओलीको धेरै मत आउनुको कारण राप्रपासँगको मिलेमतो थियो । एमालेले झापा–३ मा राजेन्द्र लिंगदेनलाई सहयोग गर्दै झापा–५ का लागि राप्रपाको भोट थप्ने गरेका थिए । झापा–५ मा राप्रपाको पनि राम्रै जनमत छ ।
अन्तिमतिर योपटक पनि ओली र लिङ्देनबीच तालमेल हुनसक्ने सम्भावना भने रहिरहन्छ ।
तेस्रो कुरा – स्वयं एमालेभित्रबाट यसपटक ओलीविरुद्ध अन्तर्घात हुनसक्ने सम्भावना छ । जेन जी आन्दोलन र एमालेको एघारौं महाधिवेशनमा नेतृत्व परिवर्तन असम्भव भएपछि एमालेपंक्तिको एउटा हिस्सा निराश र ओलीप्रति प्रतिशोधको भावनामा छ ।
चौथो – विभाजित कम्युनिस्ट जनमत पनि ओलीको चुनौती हो । झापा २०२८ सालको विद्रोहदेखि नै कम्युनिस्ट जमनत बलियो भएको जिल्ला हो । गत चुनावमा माओवादीको उम्मेदवार नहुँदा ओलीलाई कम्युनिस्ट मतको फाइदा भएको थियो । यसपटक नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टीमा एमालेका पूर्व प्रमुखहरू माधवकुमार नेपाल र झलनाथ खनाल भएको कारण पुरानो एमाले भोटको एउटा हिस्सा नेकपातिर जान सक्दछ ।
पाँच – २०४६ यताका ७ मध्ये ६ चुनाव जितेका ओलीविरुद्ध ‘एन्टी–इन्कम्बेन्सी’को सम्भावना छ । सधैँ एउटै र उही मान्छेलाई भोट हाल्न मतदातालाई मन नभएको हुन सक्दछ ।
ओलीका लागि अर्को चुनौती रास्वापाका नेता बालेन्द्र शाहको उम्मेदवारी नै हो । ओली मात्र भावी प्रधानमन्त्रीको सम्भावना हुँदा स्थानीय विकास, बजेट प्राप्ति र शक्ति संरचनासँग पहुँचका दृष्टिकोणले मतदाता ओलीकै नजिक हुने सम्भावना बढ्थ्यो । तर, अर्को प्रतिस्पर्धी पनि भावी प्रधानमन्त्रीकै उम्मेदवार हुँदा मतदाताको मनोविज्ञान नयाँ शक्ति संरचनातिर ढल्किने सम्भावना बढ्छ ।
यति हुँदा पनि ओलीको लागि अनुकूलता पनि छ । त्यो भनेको उनको परम्परागत निर्वाचन क्षेत्र, पुरानो स्थानीय सम्बन्ध र एमालेको संगठन तथा सामाजिक प्रभाव हो ।
बालेनका पाँच आशा
झापा–५ रास्वपाका बालेन्द्र शाहका लागि कमजोर सम्भावना भएको निर्वाचन क्षेत्र हो । उनको चुनाव जित्ने आधार ओलीको भन्दा कमजोर छन् । तथापि, बालेनका सबल पक्ष पनि छन् ।
एक – सामाजिक सञ्जालको लोकप्रियता
बालेन्द्र शाह सामाजिक सञ्जालमार्फत देशैभरि लोकप्रिय छन् । यस्तो लोकप्रियताको प्रभाव झापा–५ मा पनि परेको हुनुपर्दछ । झापा–५ मा दमक, गौरादहलगायतका नगर क्षेत्र पर्दछन् । गौरीगञ्ज, कमल पालिका पनि शहरीया मध्यम वर्ग संस्कृतिको प्रभाव पर्दै गएका पालिका हुन् ।
दुई – काठमाडौंको मेयर हुँदाको साख
काठमाडौं महानगर पालिकाको मेयर हुँदाको शाहको शक्ति र साखको प्रभाव झापा–५ का मतदाताबीच पनि परेको छ ।
तीन – जेन जी विद्रोह सहजतकर्ताको प्रतिबिम्व
हरेक आन्दोलन, जनविद्रोह र क्रान्तिपछि नयाँ नेतृत्वको उदय हुने स्वाभाविक प्रक्रिया पनि हुन्छ । यो प्रक्रियाले यसपटक बालेन्द्र शाहलाई ‘फेवर’ गर्दछ । किनकि, जेन जी आन्दोलनमा प्रत्यक्ष सहभागी नभए पनि उनले यसको समर्थन र अन्तरिक सरकार बन्ने प्रक्रियाको सहजीकरण गरेर राष्ट्रिय राजनीतिमा भदौ २३–२४ को विद्रोहका नायकका रूपमा स्थापित गरेका थिए ।
तर, २४ गतेका विध्वंशका लागि समेत उनी जिम्मेवार मानिन्छन् । यो उनको प्रतिकूल पक्ष हो ।
चार – ओलीसँग जुध्ने आँट
रास्वपा र बालेन्द्र शाहका राजनीतिक विरोधीले पनि उनको साहसको भने समर्थन गरेका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित व्यक्तिले सुरक्षित क्षेत्र रोज्नुको साटो उनी सिधै आफ्ना मुख्य प्रतिस्पर्धीको क्षेत्रमा भिड्न गएका छन्, जहाँ गत आम निर्वाचनमा रास्वपाको भोटसमेत तेस्रो स्थानमा थियो ।
पाँच – ‘भावी प्रधानमन्त्री’मार्फत मनोवैज्ञानिक युद्ध
‘भावी प्रधानमन्त्री’को घोषणाले मतदाताको मनोविज्ञानमा बालेनका लागि अनुकूलता सिर्जना हुन सक्दछ ।
झापा–५ को चुनाव बालेन्द्र शाहभन्दा एमाले अध्यक्ष ओलीकै लागि बढी महत्त्वपूर्ण हो । किनकि बालेन हारे पनि उनको उमेर छ । भविष्यमा सम्भावना समाप्त हुँदैन । ओली हारे उनको राजनीतिक पतनको अन्तिम बिन्दु हुनसक्ने छ ।
विशेष महाधिवेशनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पन्छ्याइएजस्तै ओली पराजित भएमा उनी प्रधानमन्त्री हुनबाट रोकिने त छन् नै पार्टी अध्यक्षबाट समेत राजीनामा गर्न बाध्य वा हटाइन सक्दछन् ।
जोखिममुक्त छैनन् गगन
सर्लाही–४ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि जोखिममुक्त छैनन् । यहाँ अहिले १३ दलीय र २५ स्वतन्त्र गरी ३८ उम्मेदवार छन् । तीमध्ये गगन थापा र रास्वपा उम्मेदवार अमरेश कुमार सिंहको चर्चा बढी भए पनि अन्य केही उम्मेदवारले समेत उल्लेखनीय मत प्राप्त गर्ने अनुमान गर्न सकिन्छ । कतिपयले जनमत पार्टीका राकेशकुमार मिश्रसमेत त्रिकोणात्मक प्रतिस्पर्धाको एक पक्ष हुनसक्ने अनुमान गरेका छन् ।
यहाँ एमालेका अमनिश कुमार यादव, जसपा, नेपालका रामेश्वर राय यादव र नेपाली कम्युनिस्ट पार्टीका डा.रजनिश रायले पनि राम्रै मत प्राप्त गर्ने सम्भावना छ ।
गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले २० हजार १७ मत प्राप्त गरी विजय हासिल गरेका थिए । तर, उनी नेपाली कांग्रेसकै बागी उम्मेदवार मानिन्थे । अमरेश बागी हुँदा पनि दोस्रो स्थानमा नेपाली कांग्रेसकै आधिकारिक उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत प्राप्त गरेका थिए ।
गत चुनावमा २० जना उम्मेदवारमध्ये ६ उम्मेदवारको मत हजारभन्दा माथि थियो । तेस्रो स्थानमा स्वतन्त्र मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् । स्वतन्त्र भने पनि उनी तत्कालीन माओवादीकी बागी उम्मेदवार थिइन् । उनी तत्कालीन पाँचदलीय गठबन्धनको कारण टिकट नपाएपछि स्वतन्त्र उठेकी थिइन् । अहिले यो समूह नेकपा (एमाले) प्रवेश गरेको छ । तसर्थ, एमालेलाई पनि धेरै कमजोर आँक्न मिल्दैन । रोचक कुरा मधुमालाका भाइ अमनिश यादव एमाले उम्मेदवार बन्दा मधुमाला स्वतन्त्र उम्मेदवार बेनकी छिन् ।
राकेशकुमार मिश्र गत चुनावमा जसपा, नेपालबाट ५ हजार ८सय १३ मत पाएका थिए । उनी अहिले जनमत पार्टीका उम्मेदवार छन् । जनमतका रामबाबु रायले ३ हजार ४ सय २९ र बहुजन एकता नेपाल पार्टी, राजाराम पासवान ५ हजार १ सय ५८ मत पाएका थिए ।
गत निर्वाचनसम्म यहाँ रास्वपाको स्थिति बिल्कुलै खराब थियो । रास्वपाका धिरज ठाकुरले ३०६ मत मात्र प्राप्त गरेका थिए । रास्वपालाई अमरेश कुमार सिंहको व्यक्तित्व प्रभाव र यसपटकको बालेन लहरले के कति फेवर गर्ने हो ? उनको अनुकूलता त्यही हुने हो ।
गत चुनावका उम्मेदवारहरू यसपटक परिवर्तन भएका छन् । स्वतन्त्र अमरेश सिंह मात्र रास्वपा प्रवेश गरेका छैनन्, तेस्रो स्थानमा रहेकी मधुमाला कुमारी यादवको परिवार एमाले प्रवेश गरे छ । राकेशकुमार मिश्र गत चुनावमा जसपा, नेपालका उम्मेदवार थिए, यसपटक जनमतका उम्मेदवार छन् ।
गत चुनावमा एमाले र माओवादी दुवै ठूला कम्युनिस्ट दलका उम्मेदवार नहुनु र कम्युनिस्ट मतदाताले कांग्रेसलाई मतदान गर्न नचाहनु अमरेशका लागि सबैभन्दा ठूलो राजनीतिक फाइदाको विषय बनेको थियो । एमालेले जसपा र माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो । यसपटक सबै पार्टीका उम्मेदवार छन् ।
नेपाली कांग्रेसको बागी मत अमरेश सिंहसँगै रास्वपातिर जान्छ वा नेपाली कांग्रेसमा फर्किन्छ, त्यसले चुनावी हारजितमा धेरै ठूलो अर्थ राख्नेछ । सबै दलको परम्परागत मत आ-आफ्नो दलमा फर्किएमा अमरेशको जनमत गत निर्वाचनमा भन्दा पनि संकुचन हुनसक्नेछ । रास्वपा पार्टीका रूपमा भने निर्वाचन क्षेत्रमा अहिले पनि बलियो छैन ।
तीन साना दल राष्ट्रिय मुक्ति पार्टीका उदयकान्त मिश्र, बहुजन एकता पार्टीका हरिनन्दन कुमार रञ्जन र आम जनता पार्टीकी रिंकी कुमारी शाहले प्राप्त गर्ने मतले पनि विजय समीकरणलाई प्रभावित गर्न सक्नेछ ।
सर्लाही–४ मा गगन थापाको जित असम्भव छैन । अमरेशको विद्रोहका बावजुद निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो दल विगतमा नेपाली कांग्रेस नै थियो, तर गगन चुनौतीमुक्त वा पराजयको जोखिम बाहिर भने छैनन् ।





प्रतिक्रिया दिनुहोस्