सार्वजनिक वा निजी जीवनमा लिंगका आधारमा कसैप्रति शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक रूपमा विभेदपूर्ण व्यवहार, करकाप वा स्वेच्छाचारी रूपमा कसैलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्यलाई लैंगिक हिंसा भनिन्छ ।
दाङ — घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, चरण र सूचकहरू पूरा गरेको पाइएपछि घोषणाको आधार तयार भएको हो । घोराहीमा ०.०१ प्रतिशत मात्र हिंसाका घटना दर्ज भएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमाकुमारी डीसीलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणाको प्रमाणपत्र प्रदान गरी औपचारिक रूपमा घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले घोराहीले गरेको काम ठूलो सामाजिक उपलब्धि र स्थानीय सरकारको नमुना काम भएको बताए । यस घोषणाले समाजमा लैंगिक हिंसा न्यूनीकरणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
सार्वजनिक वा निजी जीवनमा लिंगका आधारमा कसैप्रति शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक रूपमा विभेदपूर्ण व्यवहार, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा कसैलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्यलाई लैंगिक हिंसा भनिन्छ ।
उपमहानगरपालिकास्तरमा लैंगिक हिंसा नियन्त्रित कार्यान्वयन गर्न नगर प्रमुखको अध्यक्षतामा र वडामा वडा अध्यक्षको अध्यक्षतामा लैंगिक हिंसा नियन्त्रित समितिहरू गठन भई क्रियाशील छन् । उपममहानगर, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र टोल विकास संस्थामा लैंगिक हिंसाविरुद्धको फोकल पर्सन व्यवस्था गरी लैंगिक हिंसा न्यूनीकरणका लागि नियमित कामहरू गरिरहेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताइन् ।
टोल विकास संस्थाहरूले लैंगिक हिंसा नियन्त्रणका लागि उपसमिति गठन गरी नियमित बैठक र साप्ताहिक सरसफाइ लगायतका कार्यक्रममा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक छलफल तथा समीक्षा गर्ने गरेको उनले बताइन् ।
लैंगिक हिंसा नियन्त्रित नगर कायम गर्न विभिन्न सरोकारवाला निकायहरूले प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरी यस अभियानको दिगोपनाका लागि सहयोग र सहकार्य गरेका छन् । लैंगिक हिंसा नियन्त्रित नगर घोषणाले सबै किसिमको असमानता, विभेदकारी सोच र संरचनाहरूलाई रूपान्तरण गर्दै समतामूलक समाज निर्माणमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरी छन् । यहाँको कूल जनसंख्या २ लाख ५ सय ३० रहेको छ । जसमा ४६.८ प्रतिशत पुरुष र ५३.२ प्रतिशत महिला छन् । घोराही २०७८ चैत २३ मा संघीय शासन व्यवस्थापछिको देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा भएको थियो ।





प्रतिक्रिया दिनुहोस्