कञ्चनपुरः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र न. ३ बाट एक जना मात्रै महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएकी छन् । १६ वटा दलले पुरुषलाई उम्मेदवार बनाउँदा एक दलले मात्रै महिलालाई उम्मेदवार बनाएको हो। क्षेत्र न. ३ मा आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट भट्ट उम्मेदवार बनेकी छन्।
भट्ट पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकी हुन्। भीमदत्त नगरपालिका–१८, निम्बुखेडा घर भएका भट्टले महिलाको हकहितका लागि यस पटक चुनावमा उम्मेदवार बनेको बताइन्। उनी पेसाले सिलाइकटाई गर्दै आएकी छन्। साथै कञ्चनपुरकी निर्मला पन्तका दोषीलाई कानुनी कठघरमा उभ्याउन आफू उम्मेदवार बनेकोसमेत उनले बताइन्।
ठुला भनिएका दलले समेत महिलालाई अवसरबाट वञ्चित गर्दै आएकाले आमजनता पार्टीबाट आफू उम्मेदवार बनेको उनले बताइन्। निर्वाचन क्षेत्र न. ३ मा एक लाख तीन हजार ८६ मतदाता छन्। जसमध्ये पुरुष मतदाताभन्दा महिला मतदाता दुई हजार ११२ जना छन्।
महिला मतदाता सङ्ख्या ५२ हजार ५९९ रहेका छन् यहाँ विस. २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका नेता लेखक ३० हजार ५४४ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार निरुदेवी पालले १८ हजार ४४८ मत पाएका थिए।
अमरगढी समाचारदाताका अनुसार पुरुषभन्दा थोरै बढी महिला मतदाता सङ्ख्या रहेको डडेलधुरामा महिला उम्मेदवारी भने परेको छैन। समानुपातिकतर्फ महिला उम्मेदवार बनाइए पनि प्रत्यक्षतर्फ भने महिला उम्मेदवारी नपरेको हो।
डडेलधुरामा कुल मतदाता सङ्ख्या ९१ हजार ९१९ रहेको जिल्ला निर्वाचन कार्यालय डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीले जानकारी दिए। यसमध्ये महिला मतदाताको सङ्ख्या ४५ हजार ९८३ रहेको भने पुरुष मतदाता सङ्ख्या ४५ हजार ९३६ रहेको छ। पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४७ ले बढी रहेको उनले बताए ।
सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले दलित महिला हरिना कामीलाई समानुपातिक उम्मेदवार बनाएको भए पनि अन्य दलबाट समानुपातिकमा समेत महिला अटाउन सकेका छैनन्





प्रतिक्रिया दिनुहोस्