नेपाली कांग्रेसका सभापति गगन थापाले अब संसदको ५ वर्ष समयलाई कांग्रेसले सदुपयोग गर्ने बताएका छन्।
सर्लाही ४ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले संसदको ५ वर्षे समयलाई पार्टीले सदुपयोग गर्ने बताए।
‘५ वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन। यो नेपालको आर्थिक प्रगति, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यको अवस्था बदल्ने समय हुनुपर्छ, कांग्रेसले यो ५ वर्ष सदुपयोग गर्छ,’ सभापति थापाले भने, ‘त्यसका लागि सबैभन्दा ठूलो तागत कांग्रेस मधेसबाट प्राप्त गर्न चाहन्छ।’
उनले मधेस कांग्रेसको जन्मभूमि रहेको र यही भूमिले पार्टीलाई हुर्काएको र सम्हालेको पनि बताए।
यसबीचमा पार्टीले गरेका गल्ती तथा कमजोरीलाई सच्याउने संकल्पसहित आफूहरू मधेस आएको पनि थापाले बताए।
‘मधेसले कांग्रेसलाई सधैं न्याय गर्यो तर कांग्रेसले मधेसलाई दिनुपर्ने सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सवालमा कमजोरी भएका छन्,’ उनले भने।
सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।
उनले सर्लाहीका ४ वटै र मधेसका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसलाई साथ तथा समर्थन चाहिएको बताए।
‘त्यो जिम्मेवारी लिएर गएर नेपाली कांग्रेसले यो ५ वर्ष सिंगो देशको र त्यसभित्र मधेसको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्छ, यो संकल्प लिएर हामी आएका छौं,’ सभापति थापाले भने।





प्रतिक्रिया दिनुहोस्