काठमाडौं– फिल्मकर्मी दीपकराज गिरी सामाजिक सञ्जालमार्फत आफ्ना भावनाहरु व्यक्त गरिरहन्छन् । यतिबेला देश नै निर्वाचनमय भएको बेला गिरीले पनि निर्वाचनसंग सम्बन्धित टिप्पणीहरु गर्दै आइरहेका छन् ।
यसैबीच, अहिले सामाजिक सञ्जालदेखि सडकमा समेत निर्वाचनको प्रचार–प्रसार तिब्र बन्दै गएको छ । सञ्जालमा एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका नेता–कार्यकर्तालाई होच्याउने, व्यंग्य गर्ने जस्ता नकारात्मक गतिविधिहरुसमेत बढेको छ । यिनै प्रसंगलाई समेटेर गिरीले मंगलवार बिहान फेसबुकमा एउटा नोट लेखेका छन् ।
‘भन्न त नजाने गाउँको बाटो नसोध्नु भन्छन्, अब त्यही उखानलाई नै मान्ने हो भने त सामान्य ज्ञान पनि त जिरो नै हुने भो’ भन्दै गिरीले त्यसैले पनि आफूलाई लागेको कुरा शेयर गर्नु पर्ने बाध्यता औँल्याएका छन् । गिरीका अनुसार अहिले निर्वाचनमा होमिएका सबै पक्षलाई एक न एक प्रकारको तिब्र दवाव । एउटा पक्षलाइ यो निर्वाचनमा जितेर जन निर्वाचित सरकारलाई समय अगाडि नै विद्रोह गरेर असंवैधानिक ढंगले फ्याँकिएको हो भन्ने कुरा प्रमाणित गर्नु पर्ने तिव्र दबाव रहेको स्पष्ट नै छ ।
गिरीको नजरमा दोस्रो पक्ष पनि छ, जसलाई जनताले परिवर्तन खोजेकै हुन् र त्यो विद्रोह त्यहि जनचाहनाको स्वतस्फूर्त नतिजा हो, जुन समयसापेक्ष थियो भन्ने प्रमाणित गर्नुपर्ने दवाव छ । गिरीले आफ्नो नोटमा तेस्रो पक्षका बारेमा पनि उल्लेख गरेका छन्, जसले आफू पनि परिवर्तन स्विकार गर्ने शक्ति भएको तथा आफ्नै दलमा रहेको पुरातनवादी सोचविरूद्ध लडेर त्यसलाई परास्त गरेको र यो निर्वाचनको नतिजाले उक्त आन्तरिक संघर्ष सहि थियो भन्ने प्रमाणित गर्नु पर्ने दवाव छ ।
गिरीले देखेको चौथो तथा पाँचौँ शक्तिहरूलाई आफू अझै शक्तिशाली नै रहेको प्रमाणित गर्नु पर्ने दवाव छ । यति लेखेपछि गिरीले केही गम्भिर कुरा उठाएका छन् । उनी भन्छन्– ‘दवावको गर्भबाट प्रायः अस्वस्थ प्रतिष्पर्धाको जन्म हुन्छ, जसले हत्या, हिंसा तथा द्वन्दजस्ता कुराहरू निम्त्याउन सक्ने ठूलो सम्भावना हुन्छ ।’
गिरीले यसबाट बच्नका लागि केही सुझाव पनि दिएका छन् । उनका भनाइ छ– ‘त्यसैले जित्नै पर्नै दवाव लिएर दलिय स्वार्थमात्रै सोचेर उत्तेजक अभिव्यक्ति दिने, अरू दल वा उम्मेदवारलाई होच्याउने, भिडन्त हुने वातावरण श्रृजना हुनेजस्ता कुरा नगरी जुन सुकै नतिजा आएपनि स्विकार्ने र यो निर्वाचनपछि मुलुकले आन्दोलनका नाममा फेरी जन र धनको क्षति व्यहोर्नु नपरोस् भन्ने कुरामा नेता, कार्यकर्ता र हामी मतदाता सबैजना सजक हुनु पर्ने अवस्था छ, किनकी नेपाली हामी रहौँला कहाहा नेपालै नरहे ।’





प्रतिक्रिया दिनुहोस्