काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता भएसँगै बालेन्द्र (बालेन) शाहको राजनीतिक सक्रियता बढेको छ । माघ ४ गते काठमाडौँ महानगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएका बालेन रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगेर पदबहाली गरे । घण्टीघर प्रवेशका क्रममा उनलाई शुभेच्छुक, समर्थक तथा रास्वपाका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।
थामिनसक्नुको भिडले बालेनलाई ‘हाइ हाइ’ गर्दा सँगै रहेका सभापति रवि लामिछाने छायामा परेका थिए । केन्द्रीय समितिको छोटो बैठक बसेर बेलुका बालेनसहित सभापति रवि, उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता मनिष झा लगायतका शीर्ष नेता जनकपुर पुगेका थिए ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका केन्द्रित उदघोष सभालाई सम्बोधन गर्न उनीहरू मधेस झरेका थिए । माघ ५ गते जनकपुरधामको तिरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन र रवि मधेसी लवज र भेसभुसामा सँगै मञ्चमा देखिएका थिए ।
पुस १३ गते बालेन समूहसँग भएको ७ बुँदे सहमतिमा रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको थियो । महोत्तरी पुर्ख्यौली घर भएका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर मधेसको जनमत प्रभावित पार्ने रणनीतिका साथ रास्वपा अगाडि बढेको देखिन्छ । मधेसी मूलका व्यक्तिलाई भावी प्रधानमन्त्रीकारूपमा अघि सारेका कारण पनि जनकपुरमा बालेनको क्रेज निकै बढेको देखिन्थ्यो । उनलाई हेर्नका लागि मधेसका ८ वटै जिल्लाबाट मानिस जनकपुर आएका थिए ।
सभामा उनले मैथिली भाषामा दिएको सन्तुलित अभिव्यक्तिले राष्ट्रियस्तरमै चर्चा पायो । तर सोही सभामा प्रमुख अतिथिको रूपमा भाषण गरेका सभापति रवि त्यस यता गुमनाम छन् ।
माघ ६ गते बालेन आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि दमक पुगेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीकै परम्परागत निर्वाचन क्षेत्र झापा–५मा उम्मेदवारी दिएकाले बालेन यतिबेला चर्चामा छन् । उम्मेदवारी दर्ताका दिन स्वतःस्फूर्त रूपमा पूर्वका जिल्लाबाट उनलाई हेर्न ठुलो भिड लागेको थियो ।
वरिष्ठ नेता बालेनको पक्षमा जनउभार देखिँदा सभापति रवि भने सहकारी ठगी मुद्दाको सुनुवाइका लागि पर्सा जिल्ला अदालत पुगेका थिए । उम्मेदवारी दर्ताकै दिन रविलाई अदालतले एक करोड धरौटी माग गर्यो । अदालती प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण उनले वारिसनामा मार्फत चितवन–२ मा उम्मेदवारी दर्ता गराए ।
तत्कालीन सरकारले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गराए पनि वर्तमान सरकारले संगठित अपराधन र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि महान्यायाधिवक्तामार्फत पहल गरेको छ । यद्यपि, यसविरुद्ध समेत सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
रविविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सोही मुद्दामा पुर्पक्षका लागि ८ महिना जेल बसेका उनी उच्च अदालत बुटवल इजलासको आदेश अनुसार तोकिएको धरौटी बुझाएर मंसिरमा रिहा भएका थिए ।
यता काठमाडौँ महानगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर फुर्सदिला देखिएका बालेन पूर्व–पश्चिम दौडाहामा निस्किएका छन् । उम्मेदवार मनोनयन दर्तापछि इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायत पूर्वी जिल्लाको भ्रमण सम्पन्न गरेर काठमाडौँ आएका उनले आइतबार ललितपुरस्थित कुमार बेनको घरमा बसेर पार्टीका नेताहरू, उम्मेदवारहरूसँग छलफल गरेका थिए । उनी हाल सुदूरपश्चिम दौडाहामा छन् ।
पार्टीभित्र रविको एकछत्र क्रेज रहेको बेला बालेनको आगमनसँगै उनी छायामा पर्न थालेको चर्चा भइरहेको छ । तर नेता शिशिर खनाल भावी प्रधानमन्त्रीका उम्मेदवार देश दौडाहामा निस्कनु स्वाभाविक भएको बताउँछन् । रवि छायामा परेको नभइ निर्वाचन आचारसंहिताका कारण सार्वजनिक सभा समारोहमा नदेखिएको उनको जिकिर छ । सभापति रविले पाँच वटा जिल्लामा मुद्दाको तारिख बुझ्नुपर्ने भएकाले पनि सामाजिक गतिविधिमा समय दिन नभ्याएको उनको तर्क छ ।
‘बालेनजी हाम्रो भावी प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ । त्यसका लागि पनि उहाँ देश दौडाहामा हुनुहुन्छ । प्रधानमन्त्रीको उम्मेदवार भएपछि स्वाभाविक रूपमा क्रेज भइहाल्छ नि’, रातोपाटीसँग खनालले भने, ‘यसको मतलब रविजी गुमनाम हुनुभएको छैन । निर्वाचन आचारसंहिताले सभा समारोह, घरदैलो गर्न मिल्दैन । त्यसमा पनि उहाँविरुद्ध पाँच वटा अदालतमा मुद्दा छ । आन्तरिक झमेलाले पनि समय निकाल्न भ्याउनुभएको छैन ।’
यो पटक रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । उम्मेदवार छनोटमा पनि सामाजिक लोकप्रियता हासिल गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको पार्टीका नेताहरूको दाबी छ । समानुपातिक बन्दसूचीमा समेत ‘सेलिब्रेटी’ तथा लोकप्रिय अनुहारलाई राखिएको छ । पुराना राजनीतिक दल र त्यसका नेतृत्वका कारण देशमा असन्तुष्टि पोखिएको भन्दै रविले २०७९ साल असारमा वैकल्पिक राजनीतिक दलको रूपमा रास्वपा स्थापना गरेका थिए । पार्टी खोलेको पाँच महिनामै निर्वाचनमा होमिएको रास्वपाले अघिल्लो निर्वाचनमा ११ लाख ३० हजार समानुपातिक मतसहित २१ सिट जितेको थियो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई नयाँ र पुराना दलबिच ‘जनमत सङ्ग्रह’ को रूपमा हेरिएको छ । जेनजी विद्रोहका कारण सत्ता गुमाएको एमालेले यस निर्वाचनलाई देश निर्माण र विध्वंसबिचको लडाइँको रूपमा व्याख्या गरेको छ । निर्वाचनपछि रास्वपाभित्र शक्ति सन्तुलन कसरी अगाडि बढ्ला भन्नेमा चासो बढेको छ । रास्वपाका नेताहरूका अनुसार अहिले रवि र बालेनको एउटै मिसन पार्टीलाई बहुमत जुटाउनु नै हो ।
तर भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन २०४८ सालदेखि पकड जमाएर बसेका प्रभावशाली नेता ओलीको निर्वाचन क्षेत्रबाट उठेका र रवि मुद्दा–मामिलाका कारण कानुनी झमेलामा परेका कारण अपेक्षाकृत नतिजा नआए रास्वपा कसरी अगाडि बढ्ला भन्नेमा पनि धेरैको चासो छ । पार्टीको नीति, आदर्श, सिद्धान्त र विचारमा नभई लोकप्रियवादको जगमा नेता बनेका रवि–बालेन रसायनले पार्टीलाई एकजुट बनाउन कत्तिको सामर्थ्य राख्ने हो भन्ने पनि चर्चाकै विषय बनेको छ ।
रविको अनुपस्थितिमा पार्टीलाई नेतृत्व गरेका उपसभापति डीपी अर्याल चुनावी कमाण्डर बनेका छन् । सिङ्गो पार्टी चुनाव अभियानमा जोडिएका बेला रवि छाया परेको वा बालेनको उभार बढेको रूपमा व्याख्या गर्न नहुने उनको तर्क छ ।
‘निर्वाचन आचारसंहिता अनुसार रविजीले अहिले ठुल्ठुला सभामा भाग लिनु भएको छैन । पार्टीको हरेक गतिविधिमा उहाँ सक्रिय हुनुहुन्छ,’ अर्यालले भने, ‘उहाँलाई मुद्दा–मामिलाको समस्या छ । त्यता पनि भ्याउनै पर्यो । यी सबै कठिन परिस्थितिलाई सामना गरेर पार्टी गतिविधिमा लागिरहनु भएको छ । फागुन ४ गतेपछि हामी आफ्नो गतिविधि बढाउँछौँ ।’





प्रतिक्रिया दिनुहोस्