धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन् ।
धरान नगर बाल सञ्जालले आइतबार (माघ ११) उनीविरुद्ध उजुरी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराइएको हो ।
आउँदो फागुन २१ गते हुने निर्वाचनलक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको सञ्जालको आरोप छ ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ । कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बालअधिकारको गम्भीर उल्लंघन भएको जिकिर गरिएको छ ।
नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनका अनुसार, प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनाइएको समितिले उजुरी अध्ययन गर्नेछ र तालुक निकायमा पत्राचार गरिनेछ ।
घिमिरेले भने, “अनुगमनबाट बालबालिका प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी दर्ता समेत खारेज हुनसक्छ ।”





प्रतिक्रिया दिनुहोस्