काठमाडौँ । जेनजी आन्दोलनका शहीद अनिष पराजुलीका दुई वर्षीय छोरा नेल्सन पराजुलीले सरस्वती पूजाको शुभ साइतमा अक्षरारम्भ गरेका छन्। भर्खरै विद्यालय जीवनमा पाइला टेकेका नेल्सनलाई लक्ष्य गर्दै गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले प्रेरणादायी सन्देश दिएका छन्।
सामाजिक सञ्जालमा नेल्सनसँगको भिडियो साझा गर्दै अक्षय गोल्याणले लेखेका शब्दहरूले माया, ममता र साथ–सहकार्यको गहिरो भाव व्यक्त गर्छ। “प्रिय नेल्सन, आफूलाई आकाशमा सीमित नगर्नुहोस्, त्यसभन्दा बाहिरको सपना देख्नुहोस्, क्षितिजसम्म पुग्नुहोस्,” उनले लेखेका छन्।
नेल्सन शहीद अनिष पराजुलीका कान्छा छोरा हुन्। बुवाको सहादतले मुलुक परिवर्तनको यात्रामा अघि बढिरहँदा नेल्सन र उनका १३ वर्षीय दाइ निकोलशले जीवनको सबैभन्दा ठूलो सहारा गुमाएका छन्। यही पृष्ठभूमिमा अक्षय गोल्याणले उनीहरूप्रति स्नेह, भरोसा र साहसको सन्देश दिएका हुन्।
नेल्सन अध्ययनरत काठमाडौं युरो स्कुल, बानियाटारमा आयोजित अक्षरारम्भ कार्यक्रममा अक्षय स्वयं उपस्थित भएका थिए। गोल्याण ग्रुपले नेल्सनसहित शहीद परिवारका २४ जना बालबालिकालाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गर्दै आएको छ। सरस्वती पूजाकै दिन पोखरामा एनिक गुरुङ र सिराहामा विवान्सी चौधरीले पनि अक्षरारम्भ गरेका छन्।
नेल्सनलाई सम्बोधन गर्दै अक्षय गोल्याणले भनेका छन्, “तपाईंको बुबा हामीसँग हुनुहुन्न, तर उहाँको साहस र प्रेम तपाईंमार्फत जीवित छ। तपाईंको यो पहिलो पाइला ज्ञान र स्वतन्त्रतर्फको यात्राको सुरुवात हो।” उनले शहीदका सन्तानका सपना पूरा गर्न सधैं साथमा रहने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
शहीद परिवारका बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गर्दै आएको गोल्याण ग्रुपले यो पहलमार्फत सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ। “तपाईं कहिल्यै एक्लो हुनुहुन्न, म तपाईंको हरेक सपनालाई सार्थक बनाउन साथमा रहनेछु,” अक्षय गोल्याणको सन्देशले धेरैलाई भावुक बनाएको छ।





प्रतिक्रिया दिनुहोस्