काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रस्तावित प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन शाह सोमबार सुदूरपश्चिमका जिल्लामा चुनावी दौडका लागि उड्ने भएका छन्।
आइतबार दिनभर बागमती प्रदेशका विभिन्न जिल्लाका उम्मेदवारसँग परामर्श, सल्लाह र वार्ता गरेका बालेन सुदूरपश्चिमका लागि बाँके जिल्लामा उत्रिएर अछाम डडेल्धुरासम्म पुग्ने कार्यक्रम रहेको छ।
अछाम–२ का रास्वपा उम्मेदवार भूपदेव शाहले उम्मेदवार, कार्यकर्ता र शुभेच्छुक भेटघाटका लागि भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन सुदूरपश्चिम भ्रमणमा निस्किन लागेको बताए।
‘बाँके–बर्दिया हुँदै कैलाली–कञ्चनपुरबाट डडेलधुरा जान्छौँ । त्यहाँबाट अछाम पुग्छौँ,’ उनले भने।
१३ पुसमा रास्वपासँग सातबुँदे सहमति गरेर संसदीय राजनीतिमा होमिएका बालेनले ४ माघमा काठमाडौंको मेयर पदबाट राजीनामा दिएका थिए। त्यसपछि ५ माघमा जनकपुर गएर स्थानीय मैथिली भाषामा पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। २१ फागुनको निर्वाचनका लागि यो उनको पहिलो चुनावी कार्यक्रम थियो।
६ माघमा झापा ५ पुगेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका बालेनले कार्यकर्ता, शुभेच्छुक र पार्टीका उम्मेदवारसँग आक्रामक हिसाबले अन्तत्र्रिmया थालेका थिए।
७ माघकै साँझ उनी इलाम पुगे र अर्को दिन ८ माघमा बिहानै पूर्वी पहाडतिर उक्लिए। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङको भ्रमण सकेर उनी काठमाडौं फर्किएका थिए।
उता, बालेन सुदूरतिर जाँदा झापा–५ निर्वाचन क्षेत्रमा प्रस्तावित प्रधानमन्त्रीकी पत्नी सबिना काफ्ले घरदैलोमा ब्यस्त रहेकी छन्।
रास्वपाका झापाका नेता कार्यकर्तासँगै काफ्ले घरदैलोमा बालेनका लागि सोमबारदेखि सक्रिय बनेकी छन्। बालेन प्रधानमन्त्री बनेका खण्डमा उनी प्रथम महिला बन्नेछिन्।
‘हामी सम्भावित प्रथम महिलासँगै भावी प्रधानमन्त्रीको चुनावी घरदैलोमा सक्रिय रहेका छौं’, झापाका रास्वपा नेताहरुले भनेका छन्।
दमक–९ मा सोमबार बिहान सम्पन्न मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको छ। माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो।
दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।
उक्त घरदैलो कार्यक्रम रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सम्पन्न भएको हो।
रास्वपाले आज दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तय गरेको छ। दिउँसोको कार्यक्रम सोमबार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुगी चोकबाट सुरु हुनेछ।
कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने छ। उक्त कार्यक्रम पनि रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सञ्चालन हुने जनाइएको छ।





प्रतिक्रिया दिनुहोस्