ओली र बस्नेतको अभिव्यक्तिले मधेसमा एमालेको मत कति प्रभावित होला ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका बारेमा र पार्टीका सचिव महेश बस्नेतले मधेसको भाषा नबुझी अल्पज्ञानका आधारमा दिएको अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुगेको छ ।

चुनावकै मुखमा एमाले अध्यक्ष ओली र उनकै विश्वासपात्र बस्नेतले दिएका अभिव्यक्ति सुनियोजित हुन् वा संयोगमात्र ? यसबारे मधेसमा चर्चा भइरहेको छ ।

SHIKHAR COOL TECH

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले केही दिनअघि जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मैथिली भाषामा भनेका थिए, ‘आइ एगो मधेसी छौरा प्रधानमन्त्री बनेवाला हैं, तइ लेल घण्टी मे भोट नइ दइ के हइ, सही लोग आबै हइ, तइ लेल मत दइ के हइ ।’

बालेनका ती अभिव्यक्तिको नेपाली भावानुवाद ‘आज मधेसको एउटा छोरा प्रधानमन्त्री बन्दैछ, त्यसकारण घण्टीमा भोट दिने होइन, सही मान्छे आउँदैछन् त्यसका लागि मत दिने हो’ भन्ने नै हो ।

बालेनले प्रयोग गरेको ‘छौरा’ शब्दको अर्थ नेपाली भाषामा ‘ठिटो’ वा ‘केटो’ हुन्छ । मैथिली भाषाको अर्थ नै नबुझी एमालेका सचिव बस्नेतले ‘छौरा’ शब्दलाई ‘छाउरा’का रूपमा व्याख्या गर्दै नेपाली भाषाअनुसार त्यसको अर्थ लगाएर बालेनको उपहास गर्न खोजेका थिए ।

त्यसपछि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘झापाको दमक साफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । महोेत्तरी, धनुषाजस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एडभान्स छ, सफासुग्घर बेग्लै छ । उहाँ (बालेन) त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा उहाँले गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन । यो ठाउँ त धेरै एडभान्स छ नि ।’

ओलीको यो भनाइलाई लिएर पनि मधेसमा एमालेको निकै आलोचना भइरहेको छ । एमालेका अध्यक्ष ओलीले पूरै मधेसलाई अपमान गरेको भन्दै आलोचना हुन थालेको छ ।

एमालेका उपमहासचिव रघुवीर महासेठले शनिबार जनकपुरको एक कार्यक्रममा यसबारे प्रष्टीकरण नै दिएका छन् । मधेस र मधेसी समुदायलाई अपमान गर्ने नियत नभएको भन्दै उनले यसबारे महेश बस्नेतले माफी नै मागेको जिकिरसमेत गरेका छन् ।

चर्को आलोचना हुन थालेपछि एमाले सचिव बस्नेतले फेसबुकमार्फत क्षमायाचना गरेका छन् । उनले भनेका छन्, ‘बालेन भाइले म मधेसको छौरा भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ । म मधेस, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति हुँ । मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु । कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु ।’

ओली र बस्नेतका पछिल्ला अभिव्यक्तिले मधेसमा एमालेको मत कति प्रभावित हुन्छ भन्नेबारे समेत चर्चा हुन थालेको छ ।

जनकपुरमा रहेका राजनीतिक विश्लेषक ई.सत्यनारायण साहले एमाले नेताहरूको अभिव्यक्तिले मधेसी जनताको भावनामा चोट पुगेको बताए । ‘मधेसमा त्यतिकै पनि बालेनको इन्ट्रीले एमालेप्रति त्यहाँका जनता सकारात्मक थिएनन्,’ उनले भने, ‘यही बिचमा एमालेका नेताहरूले यस्ता खालका अभिव्यक्ति दिन थालेपछि मतदातालाई ठेस पुगेको छ ।’

जुन पार्टीका अध्यक्षले नै मतदाताको अपमान हुने गरी अभिव्यक्ति दिन्छन् भने त्यो मतदाताले कसरी त्यस्ता पार्टीलाई मतदान गर्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिने साहको भनाइ छ ।

जनकपुरमा आइतबार बसेको एमाले मधेस प्रदेश समितिको बैठकमा मधेस प्रदेशका सबै उम्मेदवारको उपस्थिति थियो । उक्त बैठकमा समेत यो विषयमा कुरा उठेको थियो ।

एमालेका उम्मेदवारहरूले समेत पार्टीका प्रभावशाली नेताहरूको अभिव्यक्तिले गर्दा क्षेत्रमा गाह्रो भइरहेको धारणा राखेका थिए । एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले भाषाको कारणले त्यस्तो त्रुटि भएको जिकिर गर्दै यसलाई त्यही अनुसार जनतालाई बुझाउन भनिएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीका नेताहरूले जुन अभिव्यक्ति दिनुभएको छ, त्यो भाषागत त्रुटि हो । सबै भाषाको बारेमा सबैलाई जानकारी हुँदैन, भाषाको ज्ञान नभएका कारण त्यस्तो अभिव्यक्ति आएको हो । कसैलाई होच्याउने वा अपमान गर्ने नियतले होइन ।’

आफूहरूले जनतालाई यसको बारेमा जानकारी गराइरहेको प्रदेश अध्यक्ष मण्डलले बताए । भाषाको त्रुटिका कारण यो अभिव्यक्ति आएको भनेर मतदाताले बुझेका कारण पार्टीलाई कुनै असर नगर्ने उनको दाबी छ ।

यसअघि मधेस आन्दोलनका क्रममा एमालेका नेताहरूले  दिएका अभिव्यक्तिका कारण मधेसमा एमालेलाई निकै गाह्रो भएको थियो । तिनै अभिव्यक्तिका कारण एमाले नेताहरूलाई मधेसमा निषेध नै गरिएको थियो । परिणाम स्वरुप २०७४ को निर्वाचनमा मधेसमा एमालेको मत कम आएको थियो । २०७४ को चुनावपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने । त्यसपछि उनले मधेससँगको सम्बन्ध सुधार गरेका थिए । परिणामस्वरुप २०७९ को निर्वाचनमा एमालेले मधेसमा राम्रो मत पाएको थियो ।

अहिले पनि एमाले नेताहरूको अभिव्यक्तिले मधेसमा एमालेको मत बिग्रिने सम्भावना बढ्दै गएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार