राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २२३ जनाले मतदान गरेका छन्।
गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रूद्र न्यौपानेका अनुसार ५७ प्रदेश सभा सदस्य मतदान गरे। जसमा २० महिला र ३७ पुरुषछन्। यस्तै, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६९ जना मतदाता रहे पनि १६६ जनाले मात्र मतदान गरे। जसमा महिला ६४ जना र पुरूष १०२ छन्।
गण्डकी प्रदेश सभामा ६० जना सांसद रहने व्यवस्था रहे पनि मनाङबाट निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ कारागारमा छन्। उनको सांसद पद अदालतको आदेशबाट खारेज भइसकेको छ।
बाँकी ५९ प्रदेश सभा सदस्यले मतदान गर्न पाउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचत २ जना सांसद पनि मतदानमा उपस्थित भएनन्। राप्रपाले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारसमेत उठाएको छैन। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमै पार्टी केन्द्रित हुनुपर्ने भएकाले राष्ट्रिय सभा निर्वाचनमा उपस्थित नभएको सांसद इन्दु पौडेल पहाडीले बताइन् ।
‘हामी दुई जना मात्र छौं, उम्मेदवार पनि उठाएका छैनौं,’ उनले भनिन्, ‘प्रतिनिधि सभा निर्वाचनमै केन्द्रित हुनुपर्ने भएकाले हामी मतदानमा उपस्थित भएनौं।’
गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जनाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने व्यवथा रहे पनि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी अभियोगमा अहिले बागलुङ कारागारमा रहेकाले उनको पद निलम्बित छ। सोही कारण मतदाता नामावलीमा उनको नाम हटाएर १६९ जना कायम गरेको थियो। नेपालीबाहेक अरू २ जना पालिकाका प्रमुख र उपप्रमुख पनि मतदानमा सहभागी भएनन्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालाई एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यमा उम्मेदवार उठाएको छ। थापाले कालीगण्डकी गाउँपालिका प्रमुखबाट राजिनामा दिइसकेका छन्। सोही कारण उनी मतदानमा सहभागी हुन पाएनन्।
यस्तै, स्याङ्जाकै वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैह्रे मतदानमा उपस्थित भइनन्। नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख गैह्रे हाल जर्मनीमा भएकाले मतदानमा उपस्थित हुन नसकेको वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरूङले बताए। उनका अनुसार उपप्रमुख गैह्रे पारिवारिक कामको शिलशिलामा जर्मन गएकी हुन् । केही दिनमै उनी नेपाल फर्कने प्रवक्ता गुरुङलेले बताए।
यस्तै, मनाङको नार्पाभूमी गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा मतदानमा उपस्थित भएनन्। उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।
मतदान सकिएसँगै मतगणना प्रक्रिया थालिएको निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी न्यौपानेले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस्