धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बृहत् चुनावी रणनीतिक छलफल गरेको छ। पार्टी संगठनलाई एकताबद्ध बनाउँदै प्रभावकारी रूपमा निर्वाचनमा होमिने र काँग्रेसका एजेन्डा मतदातामाझ पुर्याउने उद्देश्यले आयोजित बैठकलाई आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
क्षेत्रीय सभापति भीम पडालको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमितिका पदाधिकारी, कैलाली जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लामो समयपछि क्षेत्रीय तहमा यति व्यापक सहभागितासहित छलफल हुनुले क्षेत्र नम्बर ५ मा चुनावी माहोल बन्दै गएको संकेत गरेको छ।
बैठकको सुरुआत स्वागत मन्तव्यसहित गरिएको थियो। नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले पार्टीभित्र देखिएका चुनौती र अवसरबारे चर्चा गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए। संगठनभित्र समन्वय, संवाद र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
बैठकको सञ्चालन सुदूरपश्चिम प्रदेश क्षेत्रीय सचिव विजयराज जोशीले गरेका थिए। उनले बैठकको उद्देश्य स्पष्ट पार्दै यो कार्यक्रम औपचारिकतामै सीमित नभई आगामी कार्ययोजनाको आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको बताए।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले काँग्रेसले देशको नेतृत्व गर्दा गरेका सकारात्मक कार्यहरू जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। विकास, लोकतन्त्र, समावेशिता र संविधान कार्यान्वयनमा काँग्रेसको भूमिकालाई स्पष्ट रूपमा राख्न सके सकारात्मक नतिजा आउने उनको विश्वास थियो।
बैठकको मुख्य आकर्षण प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहको धारणा रहेको थियो। उनले पार्टीभित्र गुट–उपगुट रहेको भन्ने चर्चा निराधार भएको बताउँदै व्यवहारमा सबै नेता–कार्यकर्ता एकताबद्ध रहेको दाबी गरे।
स्वास्थ्य समस्याका बाबजुद आफू राजनीतिक रूपमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पार्दै शाहले पार्टीका सबै समूहको समर्थन आफूलाई रहेको बताए। ‘कुरा गर्दा गुटको चर्चा सुनिन्छ, तर व्यवहारमा छैन,’ उनले भने, ‘हामी सबैको साझा लक्ष्य एउटै हो—कैलाली–५ मा नेपाली काँग्रेसलाई जिताउने।’





प्रतिक्रिया दिनुहोस्