पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तारा चिह्नबाट चुनाव लड्ने प्रस्ताव लिएर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन् । गोरखा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका भट्टराई चुनावी तालमेलको प्रस्ताव लिएर प्रचण्डनिवास पुगेका हुन् । शुक्रबार बिहान प्रचण्डसँग भएको छलफलका क्रममा भट्टराईले आफूलाई सघाउन अनुरोध गरेका थिए । त्यसक्रममा उनले बरु तारा चिह्नबाटै चुनाव लड्न सकिने प्रस्ताव गरेका थिए ।
तर प्रचण्डले सकारात्मक जवाफ नदिएको स्रोतको भनाइ छ । गोरखा २ मा नेकपाले लेखनाथ न्याैपानेलाई उम्मेदवार बनाएको छ । स्रोतले भन्यो, ‘लेखनाथलाई उम्मेदवारी फिर्ता गराउनुपर्यो । म तारा चिह्नबाट चुनाव लड्छु । मैले पछि के गर्नु पर्छ गर्छु भन्नुभएछ । तर प्रचण्डले तत्काल सम्भव नभएको जवाफ दिनुभयो ।’
प्रचण्डले सकारात्मक जवाफ नदिए पनि उम्मेदवारी फिर्ता लिन बाबुरामले न्यौपानेलाई पनि आग्रह गरेका छन् । तर न्यौपानेले पनि अवस्वीकार गरेका छन् ।
उम्मेदवारी फिर्ता लिइदिनुपर्यो मिलेर जाऔँ भन्ने प्रस्ताव बाबुरामबाट आएको न्याैपानले बताए । उनले भने, ‘उहाँ आज बिहान संयोजकलाई भेट्न जानुभएछ । त्यहीँबाट निस्केपछि मलाई फोन गर्नुभएको थियो । मैले सम्भव छैन भनिदिएँ । सिंगो पार्टी उम्मेदवारी फिर्ता लिने पक्षमा छैन ।’





प्रतिक्रिया दिनुहोस्