पाल्पाको क्षेत्र नंं २ बाट सोमप्रसाद पाण्डेले चार पटक चुनाव जिते।
२०५१, २०५६, २०६४, २०७० र २०७४ मा उनी पाल्पा-२ मा एमालेबाट उम्मेदवार थिए। ०६४ बाहेक सबै चुनावमा उनी विजयी भए।
ती पाँच वटै निर्वाचनमा पाण्डेको चुनावी कमाण्डर थिए ठाकुर गैरे।
उनीहरू दुवै तत्कालीन एमालेमा रहँदा पाल्पामा पाण्डेको जितका लागि गैरेको संगठन परिचालन निर्णायक मानिन्थ्यो।
नेकपा एमाले विभाजन भएपछि पाण्डेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजे भने गैरे एमालेमै सक्रिय रहे।
फरक कित्तामा पुगेपछि ०७९ देखि पाण्डे र गैरे प्रतिस्पर्धी बनेका छन्।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी लगायतको गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेलाई नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गैरेले पराजित गरेका थिए।
गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरेका थिए भने पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा ६४ हजार २०३ मत खसेको थियो। फागुन २१ गते हुने चुनावमा गैरे एमालेबाटै उम्मेदवार बनेका छन् भने पाण्डे नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्।
त्यतिबेला समानुपातिकतर्फ एमालेले २२ हजार ५२९ मत ल्याएको थियो। कांग्रेसले २० हजार १५४ मत ल्याउँदा ८ हजार ३७८ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको थियो।
तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ५ हजार ९९४ र एकीकृत समाजवादी पार्टीले १ हजार ३०६ मत प्राप्त गरेको थियो।
पाल्पाको मदनपोखरामा जन्मिएका ७० वर्षीय पाण्डे कानुनमा स्नातक हुन्। २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी२०३६ मा ३२ दिन जेल बसेका थिए। त्यतबेला उनी शिक्षक थिए। बहुदलको पक्षमा सक्रिय भए पछि पाण्डे पक्राउ परेका थिए।
२०४० मा नेकपा मालेको गाउँ कमिटी उपसचिव बनेका पाण्डे इलाका सदस्य हुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा रहे।
पाण्डे एमाले विभाजनपछि एकीकृत समाजवादीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन्।
उता पाल्पाको बगनासकाली गाउँपालिका बराङ्दीका ५७ वर्षीय गैरेले २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिएपछि राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका छन्।
विद्यालयमै रहँदा परिवर्तनको पक्षमा जागरण पैदा गर्न विभिन्न नाटक र साँस्कृतिक अभियान संचालन गर्ने गैरे २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र २०६३ सालमा अध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका उनी हालै सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सचीवमा पराजित भए पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
लामो समय गुरू, चेला र उम्मेदवार, कमान्डर बनेका यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धाले नेपाली राजनीतिमा ठूलो चर्चा पाउने गरेको छ।
क्षेत्र नं २ मा गैरे र पाण्डेसँगै नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा लगायत प्रतिस्पर्धामा छन्।
यो क्षेत्रमा राजनीतिक दलहरूबाट १४ र स्वतन्त्रबाट ३ जना गरी १७ जनाले उम्मेदवारी दिएका छन्। यहाँ १ लाख ९ हजार ५३ मतदाता रहेका छन्।





प्रतिक्रिया दिनुहोस्