काठमाडौँ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएको छ।
गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। तर थापा नेतृत्वको कार्यसमिति हालसम्म केन्द्रीय कार्यालय सानेपा पुगेको थिएन। यस अवधिमा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डका दुई बैठक पार्टी प्यालेस तथा होटलहरूमा सम्पन्न भएका थिए।
कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबार सभापति थापासहित सम्पूर्ण कार्यसमिति केन्द्रीय कार्यालय जाने जानकारी दिए। उनका अनुसार सोही दिन केन्द्रीय समिति बैठक पनि बस्ने तयारी छ।
प्रतिनिधि सभा निर्वाचनको तयारीका कारण अधिकांश केन्द्रीय सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध सदस्यहरूबीच मात्रै बैठक बस्ने प्रवक्ता चालिसेको भनाइ छ। बैठक शुक्रबार दिउँसो आयोजना हुने बताइएको छ।




प्रतिक्रिया दिनुहोस्