एपिस ल्याबोरियोसा अर्थात् हिमाली भिर मौरी, संसारकै सबैभन्दा ठुलो मह उत्पादन गर्ने मौरी प्रजाति हो। सन् १९८० को दशकसम्म यसलाई एपिस डर्सेटा (सिन्कुस/खागो मौरी) कै उप–प्रजाति मानिन्थ्यो। तर जापानी कीट–वैज्ञानिक साकागामीको नेतृत्वमा गरिएको दीर्घकालीन अध्ययनपछि सन् १९९० को दशकतिर यसलाई छुट्टै प्रजातिका रूपमा वैज्ञानिक मान्यता दिइयो।
हालसम्म उपलब्ध तथ्यअनुसार यो मौरी नेपालदेखि भुटान, भारत, म्यानमार, लाओस, दक्षिण चीन हुँदै पाकिस्तानको पूर्व–उत्तर हिमाली भू–भागसम्म फैलिएको छ। उच्च पहाडी वातावरणका लागि विशेष रूपमा अनुकूलित यस प्रजातिले प्रायः १.५ मिटर चौडा एकल, तेर्सो चाका ठाडा भिरमा निर्माण गर्छ। ठुलो शरीर र बाक्लो रौँले ढाकिएको यो मौरी अत्यधिक मात्रामा मह उत्पादन गर्न सक्षम छ।
हिमाली भेगमा पाइने वनस्पतिको परागसेचनमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। यसका साथै, यो मौरीले पारिस्थितिक प्रणाली सन्तुलन र स्थानीय समुदायको सांस्कृतिक जीवनमा पनि अमूल्य योगदान पुर्याउँदै आएको छ। तर आज जलवायु परिवर्तन र मानव–सृजित विभिन्न दबाबका कारण यसको अस्तित्व गम्भिर संकटमा परेको छ।
मह संकलन परम्परा संकटमा
मह संकलन (हनी हन्टिङ) हिमाली समुदायहरूको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा गाँसिएको परम्परा हो। ऐतिहासिक रूपमा यो अभ्यास मौरीको जीवनचक्र र ऋतु चक्रसँग घनिष्ठ तालमेल मिलाएर विकसित भएको थियो। कहिले र कहाँ मह संकलन गर्ने भन्ने निर्णय मौरीको व्यवहार, स्थानीय ज्ञान र वातावरणीय संकेतहरूको समग्र मूल्यांकनका आधारमा गरिन्थ्यो।
एरिक भाली र डायना समर्सद्वारा निर्मित ‘हनी हन्टर्स अप नेपाल’ वृत्तचित्रले यो परम्परालाई विश्वसामु नाटकीय रूपमा चिनाएपछि भिर मौरीप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो। तर पछिल्ला दुई–तीन दशकमा परम्परागत नियम र संयम क्रमशः कमजोर हुँदै गएका छन्।
महको उच्च बजार मूल्य तथा डकुमेन्ट्री निर्माताबाट प्राप्त हुने भुक्तानीले बेमौसममा मह संकलन गर्ने प्रवृत्ति बढाएको छ। आधुनिक उपकरणको प्रयोगले जोखिम कम भएपछि विगतमा कठिन मानिएका भिरहरूबाट पनि मह निकालिन थालेको छ। कतिपय स्थानमा एकै सिजनमा पटक–पटक संकलन गर्ने, प्रदर्शनका लागि मौरीको जीवनचक्रलाई बेवास्ता गर्ने जस्ता गतिविधिहरू मौरीका लागि घातक साबित हुँदै गएका छन्।
मौरीको घट्दो जनसंख्या र यसले निम्त्याउने संकट
यो पंक्तिकारले गरेको ५० भन्दा बढी भिरको प्रत्यक्ष अवलोकन, बेन्जामिन अन्डरुड र प्रोफेसर वाइके लगायतका अनुसन्धान लेखहरूको अध्ययन तथा समुदाय–परामर्शले भिर मौरीको संख्या तीव्र रूपमा घट्दो क्रममा रहेको देखाएको छ। पहिले ‘मह–भिर’ भनेर चिनिने केही स्थानमा अहिले मौरी आउन छाडेका छन्। अधिकांश मौरी–गोला समुद्री सतहबाट १,२०० मिटरभन्दा माथि मात्र भेटिन थालेका छन्, जसले तापक्रम वृद्धिसँगै मौरीहरू क्रमशः उच्च भेगतर्फ सर्दै गएको संकेत गर्छ।
अनुसन्धानले मौरीको संख्या तीन प्रकारले घटेको देखाउँछ:
१. पहिले मौरी बस्ने केही भिरमा हालका वर्षहरूमा मौरी आउनै छाडेका छन्।
२. पहिला एउटै भिरमा धेरै गोला मौरी देखिन्थे, अहिले प्रति भिर गोलाको संख्या घटेको छ।
३. पहिले चाकाको आकार ठुलो हुन्थ्यो र एउटै गोलामा करिब ७० हजारसम्म मौरी हुन्थे; अहिले यस्तो अवस्था विरलै देखिन्छ।
भिर मौरीमा आएको ह्रासले एकातिर पहाडी समुदायको आयआर्जनमा कमी आएको छ भने अर्कोतिर उनीहरूको महत्त्वपूर्ण सांस्कृतिक र परम्परागत सम्पदा क्षय हुँदै गएको छ। मह संकलन सामाजिक सहकार्यको उत्कृष्ट उदाहरण हो— जहाँ भिर चढ्ने मह–सिकारी, डोरी र भर्याङ सम्हाल्ने, धुवाँको व्यवस्था गर्ने लगायतका कार्यमा उच्च स्तरको समन्वय आवश्यक पर्छ।
मौरीको संख्या घट्दा फलफूल र अन्नबालीको उत्पादनमा कमी आउने, जैविक विविधता ह्रास हुने र सम्पूर्ण पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पर्ने जोखिम बढेको छ।
जलवायु परिवर्तन र मानव दबाब
जलवायु परिवर्तन भिर मौरीका लागि सबैभन्दा गम्भिर चुनौती बनेको छ। तापक्रम वृद्धि र अनियमित वर्षाले मौरी र फूलबिचको सूक्ष्म सह–विकसित तालमेल बिगार्दै लगेको छ। फूल फुल्ने समय, पुष्प–रस उत्पादन र वनस्पति चक्रमा आएको परिवर्तनले मौरीको आहार सङ्कलन अस्थिर बनाएको छ। मौरीलाई आवश्यक ‘हनीड्यु’ उत्पादन गर्ने एफिड कीरा अतिवृष्टि वा खडेरीले नष्ट हुँदा आहार सङ्कलन झन् अस्थिर बनेको छ।
तापक्रम बढेसँगै फूलहरू समय अगावै फुल्न थालेका छन्, जसले मौरीको करिब ४० दिन लामो विकास–चक्र (अन्डाबाट कर्मी मौरी बन्न २०–२१ दिन र पराग/पुष्परस सङ्कलनका लागि आवश्यक दक्षता विकास गर्न थप १८–१९ दिन) सँग तालमेल मिलाउन कठिन बनाएको छ।
उच्च भेगमा नयाँ झार–बिरुवा फैलिन थालेका छन् भने मौरीलाई अनुकूल थुप्रै रैथाने प्रजातिहरू हराउँदै गएका छन्। साथै, नयाँ परजीवी र सिकारी जीवहरूको आगमनले मौरीमाथि थप दबाब सिर्जना गरेको छ।
यसका अतिरिक्त, जलविद्युत् आयोजनाका कारण नदी–नालाको बहाव परिवर्तन हुँदा मौरी र वनस्पतिका लागि आवश्यक पानी स्रोतहरू सुक्दै गएका छन्। हिउँ–ताल फुट्ने, पहिरो जाने र भिर खस्ने जस्ता जलवायु–प्रेरित विपद्ले पनि वासस्थान नष्ट गरिरहेका छन्।
असंवेदनशील मानवीय क्रियाकलापले समस्या अझ गहिरिएको छ। पैसाको लोभमा मौरीको अवस्था नहेरी भिर चढ्ने प्रवृत्ति बढेको छ। विशेष गरी लालीगुराँस परिवारका फूलबाट बनेको मह उच्च मूल्यमा बिक्ने भएकाले भिरमा पुगेपछि सबै चाका खसाल्ने अभ्यास देखिन्छ। कतिपय चाकामा मौरीले १०० ग्राम महसमेत जम्मा गर्न नपाउँदै नष्ट गरिने अवस्था छ, जसले मौरीलाई पुनर्स्थापित हुने अवसर नै दिँदैन।
पारिस्थितिक महत्त्व र संरक्षणका उपाय
भिर मौरी उच्च हिमाली वनस्पतिका लागि ‘की–स्टोन’ परागसेचक हो। यसको संरक्षण वातावरणीय मात्र होइन, आर्थिक र सांस्कृतिक दृष्टिले पनि अत्यावश्यक छ। तराईमा पाइने खागो मौरीमा गरिएको अध्ययनले चाका पूरै नष्ट नगरी पनि मह निकाल्न सकिने देखाएको छ। यही अभ्यास भिर मौरीमा पनि लागू गर्न सकिन्छ। जस्तै: भर्खरै बनाउन लागेका वा मह अलिकति मात्रै भएको चाका नझार्ने, छाउरा धेरै भएका चाका नछुने र निश्चित मौसममा मात्र मह निकाल्ने।
एपी–पर्यटन जस्ता वैकल्पिक मोडेलले समुदायलाई मह बेच्ने दबाबबाट केही हदसम्म मुक्त गर्न सक्छ। निश्चित शुल्कमा मह संकलन क्षेत्र अवलोकन गराउने र परम्परागत ज्ञान मह काढ्ने कला प्रदर्शन गर्ने। यसले मह बेचेर हुने आम्दानीलाई पर्यटक शुल्कबाट आंशिक रूपमा प्रतिस्थापन गर्न सकिन्छ। जसका लागि, तालिम, स्पष्ट निर्देशन र समुदाय–आधारित नियम को आवश्यकता पर्न सक्छ।
अन्त्यमा
जलवायु परिवर्तन, वासस्थान ह्रास र मानव दबाबको संयुक्त प्रभावले हजारौँ वर्षदेखि कठोर पहाडी वातावरणमा अनुकूलित भिर मौरीलाई हाम्रो आँखै अगाडि अस्तित्वको दोभानमा पुर्याएको छ।
तर अझै ढिलो भइसकेको छैन। परम्परागत ज्ञान र आधुनिक विज्ञानको संयोजन, जिम्मेवार मह संकलन, महत्त्वपूर्ण भिरहरूको संरक्षण र समुदाय–आधारित व्यवस्थापन मार्फत यो मौरीलाई पुनर्जीवन दिन सकिन्छ।




प्रतिक्रिया दिनुहोस्