सिके राउतलाई आफ्नै सहकर्मीको चुनौती

Call24News

२०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतको मधेसभरि रोचक माहोल थियो। उनकै नामको भरमा जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भयो। उनी पनि सप्तरी २ बाट अत्यधिक मतले विजयी भए।

उनी विजयी मात्र भएनन् मधेस आन्दोलनमा प्रतिस्पर्धी मानिएका उपेन्द्र यादवले नमिठो हार ब्यहोर्नुपर्‍यो।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ७९ मत पाएका थिए। चुनाव हारे पनि बारा क्षेत्र नं २ मा उपनिर्वाचन लडेर यादव संसदमा पुगेका थिए। यस पटक यादवले सप्तरी-२ छोडेर सप्तरी-३ रोजेका छन्।

२०७९ को निर्वाचनमा प्रभावशाली देखिएका राउतले साढे ३ वर्षको अवधिमा पार्टीलाई भने छिन्नभिन्न बनाएका छन्।

यस पटकको निर्वाचनमा राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका छन्। 

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले प्रदेश सांसदबाट राजीनामा दिएर राउतकै क्षेत्रमा उम्मेदवारी दिएका छन्।

२०७९ को निर्वाचनमा जनमत पार्टीबाट सप्तरी- २ को प्रदेश सभा २ जितेका सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट पूर्वमन्त्री उमेश यादव उम्मेदवार बनेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी यादव जसपा प्रवेश गरेका हुन्। यादव बाहुल्य रहेको क्षेत्रमा राउतलाई जसपाका उम्मेदवार अर्को चुनौती हुन सक्छन्।

सप्तरी सदरमुकाम राजविराज समेत यही क्षेत्रमा पर्छ।

राजविराजबाट २०७० को निर्वाचनमा उमेश यादवले माओवादीको तर्फबाट जितेका थिए। त्यसयता भने २०७४ मा संघीय र २०७९ मा प्रदेश सभामा उनी पराजित भएका थिए।

यस पटक जसपा अध्यक्ष उपेन्द्र यादव आफूले सप्तरी-३ बाट उम्मेदवारी दिएर उमेश यादवलाई सप्तरी-२ पठाएका हुन्।

सप्तरी-२ मा नेपाली कांग्रेसबाट रामकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट रामजी यादवले उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा एमालेबाट मो.जियाउल रहमान, नेकपाबाट सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिश अन्सारी, उज्यालो नेपाल पार्टीबाट दीपक चौधरी, नेपाल जनता पार्टीबाट रन्जुकुमारी झा (ठाकुर), श्रम संस्कृति पार्टीबाट त्रिभुवन खंग, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादवलगायत छन्।

राउत नेतृत्वको जनमत पार्टीका प्रमुख नेताहरू पनि अन्य पार्टीमा आबद्ध भएका छन्। पार्टीमा उपाध्यक्ष रहेका मन्त्री भइसकेका अब्दुल खान रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा लागेका छन्।

अर्का उपाध्यक्ष दीपक कुमार साह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनसरी-४ को उम्मेदवार बनेका छन्। राउतले साहलाई साउनमा पार्टीबाट निलम्बन गरेर निकालेका थिए। 

राउतको पार्टीका नेताहरू धेरैले पार्टी छोडेर राउतलाई यसै अप्ठ्यारो पर्न सक्छ। यो क्षेत्रको अर्को संयोग के हो भने २०६४ यता यहाँ अहिलेसम्म कुनै नेताले दोहोर्याएर चुनाव जितेको छैन। 

२०६४ सालमा सद्भावना पार्टीका महेश यादव निर्वाचित भएको यो क्षेत्रबाट २०७० सालमा माओवादी केन्द्रका उमेश यादव विजयी भएका थिए।

त्यस्तै, २०७४ सालमा उपेन्द्र यादव विजयी बन्दा माओवादीका २०७० का उम्मेदवार उमेश यादव पराजित हुन पुगेका थिए। २०७४ मा निर्वाचन जितेका उपेन्‍द्र यादवको पनि त्यस्तै हालत भयो।

दोहोर्‍याएर चुनाव उठेका राउतका लागि भने सप्तरी-२ का मतदाताले मत देलान्/नदेलान् त्यो भने हेर्न बाँकी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार