झापा–३ मा पुरानाविरुद्ध नयाँ अनुहारको खोजी

Call24News
  • झापा–३ का मतदातामा अहिले तीन खालको मनोविज्ञान देखिएको छ । एकातिर विकास–निरन्तरता चाहने मतदाता छन्, जसले पुरानै अनुहारलाई फेरि मौका दिन खोजिरहेका छन् । अर्काथरी मतदाता राजनीतिक परिवर्तन चाहने छन्, जसले नयाँ अनुहारको खोजी गरिरहेका छन् ।

भद्रपुर — झापा–३ को ताजा राजनीतिक अवस्था विगतजस्तो छैन । लगातार दुई निर्वाचनमा एमाले–राप्रपाबीच चुनावी तालमेल थियो । यसपटक टुटेको छ । प्रायः दुईपक्षीय भिडन्तको यो केन्द्रमा यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना छ । राप्रपा, एमाले र कांग्रेस तीनवटै शक्ति यहाँ केन्द्रीकृत भएका छन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध पूर्व संविधानसभा सदस्य हरि राजवंशीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले पनि नयाँ अनुहार अघि सारेको छ । कृष्णप्रसाद सिटौलाको ‘आधार इलाका’ मानिने यहाँ कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले डिल्लीराम घिमिरे (हिक्मत)लाई उठाएको छ । रास्वपाले भने जिल्ला संयोजक प्रकाश पाठकलाई दोस्रोपटक मैदानमा उतार्दै नयाँ राजनीतिक विकल्पको निरन्तरता दिने संकेत गरेको छ ।

यसपटक किन भएन तालमेल ?

झापा–३ का एमाले समर्थकहरू पार्टी नेतृत्वले आफूहरूलाई उपेक्षा गरेको गुनासो लामै समयदेखि गर्दै आएका थिए । उम्मेदवार सिफारिस प्रक्रियादेखि नै उनीहरू असन्तुष्ट थिए । लगातार १० वर्षसम्म यस क्षेत्रमा ‘सूर्य’ चिन्हमा भोट हाल्न नपाएको पीडा एमाले मतदाताले खुला रूपमा व्यक्त गरेका थिए ।

उम्मेदवार चयनमा ढिलाइ भइरहेपछि अध्यक्ष केपी शर्मा ओलीले केही समय झापा–३ लाई ‘होल्ड’मा राखेका थिए । तर, विरोधको आवाज तीव्र बन्दै गएपछि उनले अन्ततः सिफारिस सूचीमा परेका मध्ये आदिवासी समुदायका हरि राजवंशीलाई टिकट दिने निर्णय गरे । ‘यसपटक एमाले आफ्नै उम्मेदवार लिएर मैदानमा छ, यसले मतदातालाई औधि खुसी बनाएको छ,’ एमालेका प्रदेश सदस्य तथा स्थानीय माधव विद्रोहीले भने, ‘त्यसैले एमाले मतदाताको उत्साह बेग्लै देखिन्छ ।’

अघिल्लो चुनावमा यही क्षेत्रमा एमाले–राप्रपाबीचको तालमेलले राप्रपाका लिङ्देन विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका थिए । लिङ्देनले ३७ हजार ३ सय ६२ मत पाएका थिए । सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा एमालेको समानुपातिक मत १९ हजार ४ सय ६०, कांग्रेसको २५ हजार ५ सय ३५, राप्रपाको १९ हजार ७ सय ४३, रास्वपाको ७ हजार ८ सय १२, माओवादीको ७ हजार ५ सय ५९ र नेकपा एसको ३ सय ४५ थियो ।

रास्वपाका उम्मेदवार प्रकाश पाठकले अघिल्लो पटक ३ हजार ४ सय ६१ मत पाएका थिए । त्यो अधिकांश मत एमाले मतदाताको थियो । ‘हलोलाई भन्दा घन्टीलाई दिन्छौं’ भनेर अधिकांश एमालेले पाठकलाई मत दिएको स्थानीय बताउँछन् । ‘यसपटक मत बाँडिने पक्का छ,’ यो क्षेत्रका स्थानीय मतदाता शंकर सापकोटाले भने, ‘पहिला तीन पार्टीमा मत बाँडिएको थियो, यसपटक चार पार्टीमा मत बाँडिने निश्चित छ ।’

झ्पाा–३ मा कचनकवल, हल्दिबारी, बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाका वडा १० र भद्रपुर नगरपालिकाका १ देखि ८ सम्मका वडा समेटिएको छ । झापा ३ मा १ लाख ४० हजार ८ सय ५७ मतदाता छन् । ९ हजार ४ सय २५ नयाँ मतदाता थपिएका छन् ।

राप्रपाको पुरानै प्रभाव, उस्तै दाबी

यहाँ सबैभन्दा ‘पुरानो अनुहार’ भनेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हुन् । उनको यो पाँचौं चुनावी यात्रा हो । दुईपटक पराजित उनी दुईपटक विजयी भएका थिए । पाँचौं पटक उनी उम्मेदवार बनेका छन् । मनोनयन दर्तापछि मंगलबार उनले भने, ‘सधैंजस्तै यसपटक पनि मतदाताले मलाई विश्वास गर्नेछन् र अत्यधिक मत दिएर जिताउने कुरामा म ढुक्क छु ।’

२०७४ को निर्वाचनमा कांग्रेसका शक्तिशाली नेता सिटौलालाई पराजित गर्दै लिङ्देन राष्ट्रिय राजनीतिमा उदाएका थिए । त्यसयता उनी लगातार दुई कार्यकाल यही क्षेत्रबाट विजयी बन्दै आफ्नो संगठनात्मक आधार झनै मजबुत बनाउँदै आएका छन् ।

तर, यसपालिको स्थिति भिन्न छ । विगतका दुई निर्वाचनमा एमालेसँग सहकार्य गरेर लाभ उठाएका लिङ्देन यसपटक चुनावी मैदानमा एक्लै छन् । यही कारणले उनको जित यसपालि चुनौतीपूर्ण मानिएको हो । ‘अब लिङ्देनलाई जित्न सहज छैन,’ एमालेका मतदाता दीपक काफ्लेले भने, ‘पहिला हामीले मत दिएर जितेका थिए, यसपटक गाह्रो छ ।’

झापा–३ मा कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक राष्ट्रिय सभा चुनावमा उम्मेदवार भइसकेका घिमिरे प्रतिनिधिसभामा चाहिँ नयाँ अनुहार हुन् । व्यापारिक पृष्ठभूमिबाट आएका उनी संगठनात्मक आधार बलियो भएका नेता मानिन्छन् ।

झापा–३ का मतदाताहरूमा अहिले तीन खालको मनोविज्ञान देखिएको छ । एकातिर विकास–निरन्तरता चाहने मतदाता छन्, जसले पुरानै अनुहारलाई फेरि मौका दिन खोजिरहेका छन् । अर्काथरी मतदाता राजनीतिक परिवर्तन चाहने छन्, जसले नयाँ अनुहारको खोजी गरिरहेका छन् ।

दलभन्दा उम्मेदवार हेर्ने स्वतन्त्र मतदाता पनि देखिएका छन् । जसले ‘हाम्रो हैन राम्रो’ उम्मेदवार चुन्ने चाह राखेका छन् । पहिलो पटक मतदान गर्न लागेका जेनजी मतदाता भद्रपुरका राकेश राजवंशी भन्छन्, ‘यो–त्यो पार्टी भन्दा पनि राम्रो व्यक्तिलाई मतदान गर्ने योजनामा छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार