ओलीको आधार क्षेत्रमा बालेनको परीक्षा

‘बालेन शाह साँच्चै यहाँ चुनाव लड्न आउने नै हुन् त?’

सोमबार दिउँसो दमक नगरपालिका कार्यालय सामुन्ने रहेको पान पसलमा भेटिएका कृष्ण पौडेल सोध्दै थिए, ‘एमालेको गढ भन्ने जान्दाजान्दै उनी आउलान् भन्ने लाग्दैन।’

नेकपा एमालेका पुराना कार्यकर्ता पौडेल मात्र होइन, झापा–५ का धेरै एमाले जनलाई पनि बालेन चुनाव लड्न आउँछन् भन्ने ‘हल्ला’ जस्तो मात्र लाग्दै थियो।

‘यिनीहरू स्टन्ट गर्न माहिर छन्, यता देखाएर अन्यत्र जान्छन्,’ पौडेलको भनाइमा समर्थन प्रकट गर्दै उनीसँगै बसेका अर्का व्यक्ति थप्दै थिए।

दमकमा एमाले कार्यकर्ताहरूले यस्तो आशंका प्रकट गरिरहेकै बेला बालेन शाह भने जनकपुरमै झापा–५ का लागि रास्वपाको टिकट लिँदै थिए।

पार्टी अध्यक्ष रवि लामिछानेको हातबाट उनले टिकट लिएको खबर फैलिसक्दा पनि दमकका केही एमाले कार्यकर्ता भने अझै आशंका प्रकट गरिरहेका थिए।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ सबैको चासोको क्षेत्र बनेको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यसै पनि धेरैका लागि यो क्षेत्र चासोको थलो थियो नै। यसपटक यो चासो चुल्याउने काम बालेन शाहले गरेका छन्।

रास्वपाबाट चुनाव लड्न बालेनले झापा–५ को टिकट पाएसँगै नेपाली राजनीतिका स्थापित नेता ओली र काठमाडौंका पूर्वमेयर बालेन शाहबीच चुनावी भिडन्त हुने पक्का भएको छ। मुख्य निर्वाचन आयुक्तको कार्यालयले उम्मेदवारी दर्ताका लागि बालेनलाई अहिले बिहान ११ बजे र ओलीलाई दिउँसो १ बजेको समय दिएको छ।

एमाले अध्यक्ष ओली सोमबार नै दमक आइपुगेका छन्। चन्द्रगढी विमानस्थलमा ओर्लेर बिर्तामोडमा पार्टी कार्यक्रममा सहभागी भएर दमक आइपुगेका उनले पत्रकार सम्मेलनमा केही बेर बोले। त्यस क्रममा उनले बालेनलाई ‘यहाँ कसैले नचिन्ने’ भन्दै उडाए।

झ्याप्प दाह्री पालेका आफ्नै कार्यकर्तातिर इशारा गर्दै ओलीले भने, ‘मैले सुन्दैछु, अहिले यस्तो दाह्री पालेको कोही देख्नै हुन्न यहाँ, तपाईं बालेन शाह हो भनेर सोध्न थालेका छन् रे।’

विपक्षीहरूलाई व्यंग्यवाण कस्न माहिर ओलीले बालेनलाई यसो भने पनि झापा–५ मा उनीप्रति ठूलो चासो प्रकट भइरहेको यहाँका सर्वसाधारणको कुराले दर्शाउँछ।

झापा–५ परम्परागत रूपमा एमालेको बलियो किल्ला हो। यही क्षेत्रबाट ओलीले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ का निर्वाचन जितेर ६ पटक प्रतिनिधित्व गरिसकेका छन्।

२०६४ मा भने उनी माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। २०७९ मा त उनले देशैभरि सबभन्दा धेरै मतको कीर्तिमान राखेका थिए।

२०७९ मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत मात्र पाएका थिए। त्यस बेला कांग्रेसले माओवादी, एकीकृत समाजवादी लगायतसँग चुनावी गठबन्धन गर्दा ओलीले राप्रपासँग सहकार्य गरेका थिए। ओलीले २८ हजार ५ सय ७६ को मतान्तरले जितेका थिए।

त्यही निर्वाचनमा रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७ सय ४८ मतसहित तेस्रो भएका थिए।

समानुपातिकतर्फ भने रास्वपाले झापा–५ मा १८ हजार २ सय ५ मत पाएको थियो, जुन एमालेको ३५ हजार ८ सय ७२ मतपछि दोस्रो ठूलो मत थियो।

कांग्रेसले समानुपातिकमा १६ हजार ८५९ मत प्राप्त गर्दा माओवादीको ८ हजार ६८० र राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ हजार ३७० मत थियो।

स्थानीयका अनुसार रास्वपाबाट उम्मेदवार बन्दै गरेका बालेन शाहले यो क्षेत्रलाई अझ ‘हटकेक’ बनाइदिएका छन्। काठमाडौं महानगरको मेयर हुँदा लिएको कडा, विवादास्पद र चर्चित कार्यशैलीका कारण बालेन नयाँ पुस्तामाझ लोकप्रिय छन्। जेनजी विद्रोहका बेला उनको लोकप्रियता चुलिएको थियो।

रास्वपाले उनलाई प्रधानमन्त्री बनाउने सहमतिसहित पार्टी प्रवेश गराएको थियो। एमालेले पनि ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ।

यसरी झापा–५ मा प्रधानमन्त्रीको दाबी गरिरहेका दुई अनुहारको सिधा भिडन्त हुने निश्चित भइसकेको छ।

‘हाम्रोमा प्रधानमन्त्रीका दुई दाबेदारको भिडन्त हुँदैछ,’ दमक बजारका युवा विपिन सुवेदीले भने, ‘यो हाम्रो क्षेत्रका लागि राम्रै कुरा हो।’

त्यसो त ओली–बालेन भिडन्तबीच अन्य दलहरू पनि मैदानमा छन्। नेपाली कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई उम्मेदवार बनाएको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समिर तामाङ उम्मेदवार छन्। कांग्रेसले सोमबार रातिसम्म पनि उम्मेदवार टुंगो लगाइसकेको छैन।

झापा–५ को दमक, कमल गाउँपालिका, गौरादह र गौरीगन्ज क्षेत्रमा सेतोपाटीले कुराकानी गरेका झन्डै दुई दर्जन सर्वसाधारण यसपटक यहाँ मुख्य प्रतिस्पर्धा ओली र बालेनकै बीचमा हुने अनुमान लगाउँछन्।

गौरादह नगरपालिका–३ का ७२ वर्षीय डिल्लीप्रसाद फुयालले भने, ‘धेरै चुनाव देखियो। आखिर जो आए पनि खाने नै हुन्। पुरानाले धेरै खाए, अब नयाँले खाऊन्।’

गौरादहमै फ्रेस हाउस सन्चालन गर्ने ५२ वर्षीय कृष्ण गिरीले भने ओलीका पक्षमा फेरि पनि उभिने दाबी गरे।

‘यहाँबाट जित्ने ओलीले नै हो,’ उनले ठोकुवा गरे, ‘यो कुराका लागि बाजी ठोक्नु परे पनि ठोकौं, म त पैसा खोज्न कुदि पो हाल्छु।’

फुयालको बुझाइमा दक्षिण झापाका आदिवासी जनजाति समुदाय यसपटक नयाँ उम्मेदवारतर्फ आकर्षित देखिन्छन्। नयाँ पुस्ताका धेरैले बालेनलाई रूचाएको देखिएको उनले बताए।

ओलीको पक्षमा दाबी गरेका गिरीले भने ओली र एमालेको परम्परागत गढ, यसअघि ओलीले प्राप्त गरेको मत अनि उनले गरेको कामका आधारमा जित्ने बताए।

उम्मेदवारी दर्ता हुनै लाग्दा ओली र बालेनका समर्थकहरूको दाबी आ–आफ्नो छ। बालेनको पक्षमा तर्क गर्नेहरू नयाँलाई हेर्ने भनिरहेका छन् भने ओलीका पक्षमा तर्क गर्नेहरू उनी स्थानीय भएको, काम गरेको जस्ता तर्क अघि सारिरहेका छन्। उनीहरूको यस्तो विचारले पनि देखाउँछ, झापा–५ मा यसपटकको चुनावी भिडन्त रोचक हुनेवाला छ।

झापा–५ मा यसपटक १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन्। २०७९ को समानुपातिक मत परिणामले पनि संकेत दिएको छ, एमालेपछि रास्वपा दोस्रो शक्तिका रूपमा स्थापित भइसकेको छ। त्यस बेला कांग्रेस, माओवादी र राप्रपा पछाडि परेका थिए।

झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ र गौरीगञ्ज गाउँपालिकाका वडा ३–६ पर्दछन्।

एमालेका कार्यकर्ताले अस्वीकार गरे पनि अन्य दलका कार्यकर्ता र सर्वसाधारण भने यसपटक झापा–५ मा ओलीलाई सजिलो नहुने बताउँछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार