नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका सरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा-५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते तोडफोड र आगजनीमा परेका दमक क्षेत्रका सम्पूर्ण संरचनाहरू अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरुलाई भेट्ने कार्यक्रम रहेको छ।
दमकस्थित इलाका प्रहरी कार्यलयको भवनको निरीक्षण गरेर सुरू गरिने गौतमले जानकारी दिए।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ।
आज इलाका प्रहरी कार्यलय दमक,दमक नगरपालिका,दमकका मेयर राम थापाको निवास, नेपाली काँग्रेसको पार्टी कार्यलय,पूर्वमेयर रोमनाथ ओलीको निवास,अध्यक्ष ओलीको आफ्नो निवास,नेपाली कांग्रेस दमक नगरको कार्यलय, एमाले दमक कार्यालय र एमालेका नेता बुद्धि थापाको निवासको निरीक्षण गर्ने योजना छ ।
आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरु भएकाले जलाइएका अन्य संरचनाहरु अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी २५ वटा संरचनामा आगजनी भएको थियो।
झापा ५ मा एमालेबाट ओली, रास्वपाबाट बालेन शाह, नेकपाबाट रन्जित तामाङ, श्रम सस्कृतिबाट समीर तामाङ लगायत चुनाव लडदैछन। कांग्रेसको अहिलेसम्म निश्चित भएको छैन।




प्रतिक्रिया दिनुहोस्