राष्ट्रिय सभाबाट राजीनामा दिएका बामदेवले पाएनन् प्रतिनिधिसभाको टिकट

Call24News

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले आफू चुनाव नलड्ने निर्णय गरेको अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

गौतमका अनुसार बर्दियाका दुवै निर्वाचन क्षेत्रमा बाहुन समुदायका उम्मेदवार पर्ने अवस्था देखिएपछि उनले एउटा क्षेत्रमा थारु समुदायका उम्मेदवार उठाउनुपर्ने प्रस्ताव गरेका थिए । सोही निर्णयअनुसार आफू चुनावी रेसबाट पछि हटेको उनले बताए ।

‘मैले चुनाव लड्न चाहेका क्षेत्र बर्दियाका दुईवटै थिए । तर दुवै क्षेत्रमा बाहुन–बाहुन उम्मेदवार हुने अवस्था देखिएपछि मैले एउटा क्षेत्रमा थारुलाई उम्मेदवार बनाउनुपर्ने कुरा राखेँ । त्यसपछि मैले चुनाव नलड्ने निर्णय गरेँ र पार्टीले त्यही अनुसार उम्मेदवार तय गरेको छ,’ गौतमले भने ।

नेपाली कम्युनिस्ट पार्टीले बर्दिया–१ बाट विष्णु प्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ ।

गौतमले आफू सधैं जनताको मनसाय र भावनालाई प्राथमिकतामा राख्दै राजनीति गर्दै आएको उल्लेख गर्दै यसपटक पनि जनभावनालाई सम्मान गर्दै पछि हटेको बताए । अर्को कुनै क्षेत्रबाट चुनाव लड्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले ‘अन्त कतैबाट पनि चुनाव नलड्ने’ स्पष्ट जवाफ दिए ।

प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारी गर्दै उनले यसअघि राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका थिए । २०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि उनी राष्ट्रिय सभामा मनोनित भएका थिए । राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो, तर प्रतिनिधिसभा चुनाव लड्ने तयारीका कारण उनले डेढ महिना अगावै राजीनामा दिएका थिए ।

७७ वर्षीय गौतम बहुदलीय व्यवस्था पछिका चर्चित र बारम्बार चुनाव लड्ने नेतामध्ये पर्छन् । उनले २०४८ सालमा पहिलोपटक निर्वाचन जितेका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि २०५३ सालमा गृहमन्त्री बनेका उनी २०५६ र २०६४ मा पराजित भए । २०७० सालमा भने उनले बर्दिया–१ र प्युठान–१ दुवै क्षेत्रबाट चुनाव जितेका थिए ।

भविष्यका योजनाबारे अहिले केही नबताउने बताएका गौतमले यसपटक कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने स्पष्ट पारेका छन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार