सुदूरपश्चिमका युवाको योगदानलाई केन्द्रले उपेक्षा गरिरहेको छः श्रम मन्त्री भण्डारी

Call24News

धनगढीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले सुदूरपश्चिम र केन्द्रबीच भौगोलिक मात्र होइन, मनोवैज्ञानिक दूरी पनि बढ्दै गएको बताएका छन्। उक्त दूरी र असन्तुलित विकासकै कारण समाजमा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले उल्लेख गरे।

प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को अवसरमा बोल्दै मन्त्री भण्डारीले जनआन्दोलनहरूमा सबैभन्दा बढी सहादत सुदूरपश्चिमका युवाहरूले दिएको भए पनि राज्यसत्तामा उनीहरूको प्रतिनिधित्व ढिलो र सीमित जिम्मेवारीमा मात्र सीमित भएको बताए। “जेन्जी आन्दोलनमा समेत सबैभन्दा बढी सहादत यही क्षेत्रका युवाहरूले दिएका हुन्,” उनले भने, “तर जेन्जीहरूको प्रतिनिधित्व गर्ने सरकारमा सुदूरपश्चिम सबैभन्दा ढिलो र सीमित भूमिकामा परेको देखिन्छ।”

मन्त्री भण्डारीले समानुपातिक र सन्तुलित विकासका बीच देखिएको खाडल तथा भौगोलिक अवरोधले समाजमा तृष्णा र असन्तोष जन्माएको उल्लेख गर्दै अब नागरिकको असन्तोष मुलुकले धान्न नसक्ने बताए। । “यो असन्तोष आत्मविस्फोटको अवस्थामा पुग्नु मुलुकले धान्न सक्दैन,” उनले भने, “त्यसैले अब धनगढीका मेयर गोपाल हमालजस्ता कुशल व्यवस्थापकहरू आवश्यक छन्।” उनले मेयर हमालको नेतृत्वमा धनगढीको विकासले देखिने गरी गति लिएको दाबीसमेत गरे।

मन्त्री भण्डारीका अनुसार अब सुदूरपश्चिममा रहेको सीपलाई विकाससँग जोड्दै समृद्धि हासिल गर्ने स्पष्ट मार्ग पहिचान गर्नुपर्ने आवश्यकता छ। “यहाँ भएको सीपलाई विकाससँग जोडेर समृद्धि हासिल गर्ने बाटो अब पहिल्याउनुपर्छ,” उनले भने।

श्रमप्रतिको सामाजिक दृष्टिकोण र मानसिकता नै कमजोर रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अपरिहार्य रहेको बताए। “हामीले श्रमप्रति हेर्ने दृष्टिकोण र मनोभावना नै अलि खराब छ,” उनले भने, “आन्तरिक रोजगारी प्रवर्द्धनका लागि आवश्यक कार्यविधिहरू बनाएर त्यसलाई राष्ट्रिय रोजगार प्रणालीसँग जोड्ने काम संघीय श्रम मन्त्रालयको तर्फबाट तीव्र गतिमा अघि बढाइएको छ।”

यस क्षेत्रका युवाहरूको पौरख र ऊर्जालाई समेट्न प्रदेशस्तरीय प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारिएको मन्त्री भण्डारीले जानकारी दिए। “यहाँका युवाहरूको क्षमता र ऊर्जालाई एउटै थलोमा फ्युजन गर्न प्रदेशस्तरीय प्रशिक्षण केन्द्र आवश्यक छ,” उनले भने।

लोकतन्त्र स्थापना भएको यत्तिका वर्ष बितिसक्दा पनि युवाहरूलाई यहीँ बस्न नसक्ने अवस्था कसरी बन्यो भन्ने प्रश्न उठाउँदै मन्त्री भण्डारीले यसप्रति आत्मसमिक्षा आवश्यक रहेको बताए। “म केही गर्छु भन्ने युवाका लागि हामीले उपयुक्त वातावरण किन दिन सकेनौँ?” उनले प्रश्न गरे, “त्यही छटपटीको परिणाम जेन्जी आन्दोलन हो।”

मन्त्री भण्डारीले सुदूरपश्चिमका युवाहरूलाई स्वदेशमै अवसर दिन राज्यका सबै तह र सरोकारवालाबीच समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार