सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटमा प्रतिनिधिसभा निर्वाचनको टिकटबारे विवाद झन्झन् चुलिँदै गएको छ । नेता शक्ति बहादुर बस्नेतले जालसाझी गरेर टिकट लिएको भन्दै आइतबार जिल्ला इन्चार्ज तथा केन्द्रीय समिति सदस्य गणेश प्रसाद सिंहले पार्टी परित्याग गरेसँगै यो विवाद बाहिर आएको हो ।
प्रतिनिधिसभा उमेदवारका लागि सिफारिस भएका नेकपाका युवा नेता रामदीप आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना १० बुँदे धारणा सार्वजनिक गरेका छन् । उनले जाजरकोटमा उमेदवार छनोट प्रक्रियाबारे उठेका सवाललाई गम्भीरतापूर्वक लिएको बताएका छन् । साथै, आफूले समयको माग र आत्मागत चाहनाको मेलका रूपमा उमेदवारी दाबी गरेको स्पष्ट पारेका छन् ।
आचार्यले पार्टीभित्र बोले ‘दास र लास’ ठहरिने र पार्टीबाहिर जनतासमक्ष बोले ‘अराजक’ कहलिने अवस्थाप्रति सचेत रहेको उल्लेख गर्दै निर्वाचन सहज प्रक्रियाको उपज नभएको टिप्पणी गर्दै ‘दर्जनौँ युवाहरूको बलिदान र राज्यका संरचनासहित खरबौँ सम्पत्तिको खरानीमाथि यो निर्वाचन हुँदै छ’ भनेका छन् ।
आचार्यले जनता, कार्यकर्ता र देश हारिरहने तर नेताहरू जितिरहने प्रवृत्तिले गम्भीर संकट पैदा भएको भन्दै संकट टरेको नभई अझै देशको शिरमाथि मडारिइरहेको स्पष्ट पारेका छन् । आचार्यले आफूलाई कुनै विलक्षण प्रतिभा वा युगनायकका रूपमा नभई पार्टीको एक साधारण कार्यकर्ताका रूपमा प्रस्तुत गर्दै जनताले नै इतिहास बनाउने दर्शनमा विश्वास रहेको बताउदै उनले लेखेका छन्, “मैले भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ ।”




प्रतिक्रिया दिनुहोस्