देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो, निर्वाचन प्रक्रिया अघि बढ्ने

सभापति देउवा र दुई महामन्त्रीबीच एक घन्टा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बुधबार बिहानबाट सुरू वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीबीच छलफल सुरू भएको थियो। वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए।

दुई महामन्त्रीले देउवाको राजीनामा नै आफूहरूको ‘बटमलाइन’ भएको बताएका थिए। देउवा लगायत संस्थापन पक्षले भने यो माग स्वीकार गर्न नमानेको वार्तामा सहभागी एक नेताले जानकारी दिए।

छलफल करिब एक घन्टा चलेको थियो। कुनै सहमतिमा नपुगेपछि दुवै महामन्त्री देउवा निवास महाराजगन्जबाट निस्केर विशेष महाधिवेशन स्थलतर्फ लागिसकेका छन्। देउवासँगको वार्ताले निकास निकाल्न नसकेकाले अब निर्वाचन प्रक्रिया अघि बढाउने विशेष महाधिवेशन पक्षका एक नेताले बताए।

संस्थापन पक्षका नेताहरू पनि पार्टीको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा जुट्दै छन्। विशेष महाधिवेशन पक्षसँग वार्ता गरी सहमतिको बाटो खोज्न केन्द्रीय समिति बैठक सारिँदै आएको थियो।

मंगलबार बिहान ११ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरूमा १ बजेलाई सारियो। तैपनि बैठक सुरू भएन। राति एकछिन बैठक बसेर बुधबार फेरि बस्ने गरी स्थगन गरियो।

त्यसैबीच सभापति देउवाले छलफलको निम्ति बोलाएपछि बुधबार बिहान ८ बजे दुई महामन्त्री गगन र विश्वप्रकाश महाराजगन्जस्थित देउवा निवासमै पुगेका थिए।

दुई महामन्त्रीले असोज २८ मा देउवाले भनेका कुरालाई कार्यान्वयन गर्न आग्रह गरेका थिए।

‘तपाईं निष्क्रिय हुनुस्। सिंगापुर जानुपूर्व जे भन्नुभएको थियो, त्यो कार्यान्वयन गर्नुस्,’ दुई महामन्त्रीले सभापति देउवालाई भनेका थिए।

त्यसमा देउवाले जबाफ नदिएको वार्तामा सहभागी एक नेताले बताए।

कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरू देउवा निवासमै पुगेर दुई महामन्त्रीलाई भेटेरै कुरा गर्न सुझाएका थिए। देउवाले मंगलबारसम्म आफूपक्षका नेताहरू खटाएर वार्ता गरे पनि त्यसबाट निष्कर्ष नआएपछि आफैले दुई महामन्त्रीलाई बोलाएर छलफल गरेका हुन्।

यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पनि मनोनयन कार्यक्रमको समय थप गरी बिहान सवा ८ देखि सवा ९ बजेसम्म कायम गरिएको छ।

मंगलबार संस्थापन र शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग मंगलबार दिनभरजसो वार्ता गरेको थियो।

वार्ता चरणबद्ध बसे पनि बिनानिर्णय टुंगिएको थियो।

सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको ‘बटमलाइन’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए।

यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निष्क्रिय हुनुपर्ने माग गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार