ईश्वर पोखरेल भन्छन्- यो पटक संसदीय चुनाव नलड्न सक्छु, कांग्रेससँग चुनावी तालमेल गर्ने कुरा पार्टी र देशकै लागि भड्काउपूर्ण र हानिकारक हुन्
नेकपा एमालेको अध्यक्षमा पराजित भएपछि दैनिक राजनीतिक गतिविधिमा नदेखिएका नेता ईश्वर पोखरेलले आफ्नो निष्ठा र पार्टीप्रतिको जिम्मेवारीमाथि प्रश्न नउठाउन आग्रह गरेका छन् ।
जतिसुकै अपमान, पराजय वा उपेक्षा गरिए पनि एमालेलाई कमजोर बनाउने कुनै गतिविधि आफूबाट नहुने समेत पोखरेलले प्रष्ट पारेका छन् । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसँग कम्युनिस्ट पार्टी निर्माणको आफ्नो ५५ वर्षे जीवनका उतार चढावबारे लामो कुराकानी गर्ने क्रममा पोखरेलले एमाले भएरै मर्ने बताए ।
पोखरेलले भने– म तमाम एमाले पङ्क्तिलाई भन्न चाहन्छु जीवनमा हारजित हुन्छन् । यो पार्टी नेकपा एमाले निर्माणदेखि आजको दिनसम्म कहिल्यै विचलित नभई निरन्तर लागिरहेको व्यक्ति अब सम्भवतः म मात्रै हुँ । मबाट एमालेलाई कमजोर बनाउने कुनै गतिविधि हुने छैनन् । यही बाँचुन्जेल एमाले भएर बाँच्छु,मर्दा पनि एमाले भएरै मर्छु ।
पार्टीलाई विधि पद्धति र सामूहिक निर्णयका आधारमा चलाउनुपर्ने भन्दै पोखरेलले सामूहिक निर्णय नगर्ने प्रवृत्तिले अन्ततः पार्टीभित्र अधिनायकवाद जन्माएर त्यसले समग्र पार्टी नै समाप्त हुने खतरा रहने पोखरेलले बताए ।
ओखलढुंगा, धनुषा १ र काठमाडौं ५ बाट उम्मेदवारका लागि सिफारिस भएका पोखरेलले यस पटक आफू चुनाव नलड्ने संकेत गरे । राजनीति र पार्टी काम गर्नका लागि चुनाव नै लडिरहनुपर्छ भन्ने नरहेको भन्दै पोखरेलले फरक भूमिकामा रहेर एमाले बलियो बनाउन सकिने बताए ।
पोखरेलले कांग्रेस र एमालेबीच चुनावी तालमेल हुने चर्चा सुनेको भन्दै त्यसो हुनु लोकतन्त्र र स्वयं दलहरूका लागि हानिकारक हुने समेत प्रष्ट पारे । चुनावअघिको गठबन्धनको आफू विपक्षमा रहेको भन्दै पोखरेलले कांग्रेस र एमाले फरक विचार भएका पार्टी मिलेर चुनाव लड्ने कुरा राजनीतिक भड्काऊ र हानिकारक हुने बताए । यसले जित्ने भन्दा पनि थप क्षति हुने भन्दै पोखरेलले कतिपय क्षेत्रमा व्यवहारिक समझदारी हुनसक्ने तर क्षेत्र बाँडेर तालमेल गर्ने कुरा घातक हुने प्रष्ट पारे ।




प्रतिक्रिया दिनुहोस्