नेपाल जोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन्। जोलोजीको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा बुटवलमा सम्पन्न १३औँ साधारणसभाले शर्माको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जोलोजिकल सोसाइटी प्राणीशास्त्र विषयमा स्नातकोत्तरदेखि विद्यावारिधि गरेका प्राज्ञिकहरूको साझा संस्था हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र सुवाल, महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा डा. रमा मिश्र, डा. दीपक गुप्ता, माया उपाध्याय, शालिकराम अधिकारी, डा. जगन्नाथ अधिकारी, डा. राजेन्द्र बस्यौला, गंगा शाह, चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको रहने सचिव बाबुराम बन्जाडेले जानकारी दिए।
नव निर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरूमा जोलोजिस्टहरूको नियुक्ति र सहभागिता न्यून रहेको उल्लेख गर्दै यसलाई बढाउन नीतिगत पहल गरिने बताए। साथै प्रदेशस्तरमा जैविक विविधता, माछादेखि हात्तीसम्मका प्रजातिहरूको तथ्यांक संकलन तथा अनुसन्धान, र बाँदर लगायतका वन्यजन्तुका कारण बालीनालीमा हुने वार्षिक ठूलो क्षति न्यूनीकरणका लागि सरकारलाई सुझाव दिने उनको भनाइ छ।
दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले कमलकुमार शर्माको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा अमर केसी, महासचिवमा श्रीराम पौडेल, सचिवमा अब्दुल हाकिम खान र कोषाध्यक्षमा कमला खत्री निर्वाचित भएका छन्।

प्रदेश कार्यसमिति सदस्यहरूमा नारायण बराल, दीपक गुप्ता, आदेश ओली, शिवराज न्यौपाने, दीपा शर्मा र विशाल आचार्य रहेका छन्। सोसाइटीका अनुसार देशभर करिब तीन सय जोलोजिस्ट आबद्ध छन्।
राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. छत्रमणि शर्मा, डा. पुष्पराज आचार्य तथा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
सोही अवसरमा प्राणीशास्त्रमा विद्यावारिधी गरेका डाक्टर बलराम अवस्थी लगायतका ११ जना अनुसन्धानकर्तालाई सम्मान गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्