नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र तेस्रो दिन पनि जारी रहने भएको छ। सुरुमा पुस २७ र २८ गतेका लागि तय गरिएको भए पनि महामन्त्रीद्वयले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूबीचको छलफल नसकिएकाले बन्दसत्र आज मंगलबारसम्मका लागि लम्बिएको हो। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्रका कार्यक्रमहरू पुनः सुरु भएको जानकारी दिएका छन्।
महाधिवेशनमा महामन्त्री थापा र शर्माले पार्टीको भावी दिशा र साङ्गठनिक सुदृढीकरणका सम्बन्धमा प्रस्तुत गरेका प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले व्यापक छलफल गरिरहेका छन्। यी प्रतिवेदनहरूमाथि नीतिगत निर्णय र सहमति जुटेपछि मात्र नयाँ नेतृत्व वा साङ्गठनिक जिम्मेवारीका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने आयोजक पक्षले जनाएको छ। बन्दसत्र चलिरहँदा पनि नयाँ आउने महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रियालाई सचिवालयले निरन्तरता दिइरहेको छ।
पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको यस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ। सचिवालयका अनुसार सोमबार साँझसम्म कुल महाधिवेशन प्रतिनिधिमध्ये ६३ प्रतिशतले आफ्नो नाम दर्ता गराइसकेका छन्। बहुमत प्रतिनिधिको उपस्थितिका बीच भइरहेको यो बन्दसत्रले गर्ने नीतिगत निर्णय र त्यसपछिको निर्वाचन प्रक्रियाले नेपाली कांग्रेसको आगामी राजनीतिक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्