सरकारले आगामी माघ ४ गते आइतबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् सचिवालय सिंहदरबारमा उक्त दिन बिहान ११ बजे बैठक बस्ने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापतको दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न पनि स्वीकृति दिएको छ।
यसका साथै, सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि नेपाल सरकारले तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले ‘वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७’ र ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२’ लाई समेत स्वीकृत गरेको छ।
यस्तै, गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ। यी निर्णयहरूसँगै सरकारले वैदेशिक सहायता, आन्तरिक नीति निर्माण र प्रशासनिक नियुक्तिलाई एकसाथ अघि बढाएको छ।




प्रतिक्रिया दिनुहोस्