नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा पपुलिजम र अराजकतावादको लहर नेपालमा पनि आएको बताएका छन्।
जारी विशेष महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरेका छन्।
प्रस्तावमा भनिएको छ, ‘यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ । यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो ।’
लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ । त्यसैले लोकतन्त्रको अर्थ केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । लोकतन्त्र प्रणालीप्रधान तथा संस्था प्रधान हुन्छ । लोकतन्त्र विधिसम्मत र प्रक्रियामुखी हुन्छ ।’
नयाँ शक्तिको रूपमा उदाएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहलाई लक्षित गर्दै पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई आह्वान गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्