धनगढी । देशभर प्रभाशाली तीन मेयर, पहिलो बालेन्द्र शाह (बालेन), दोस्रो गोपाल हमाल (गोपी हमाल) र तेस्रो हर्क साम्पाङ ।
स्वतन्त्र उम्मेदवारी दिएर धमाकेदार जीत हासिल गरेका यी तीन मेयरमध्ये काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ अहिले दलीय प्रणालीमा आबद्ध भएका छन् । दुवैजना फागुन २१ गते हुने निर्वाचनको तिव्र तयारीमा छन् ।
साम्पाङ श्रम संस्कृति पार्टीबाट चुनाव लड्ने तयारीमा छन् भने काठमाडौँका मेयर बालेन शाह घण्टी चुनाव चिन्ह लिएर रास्वपाबाट चुनावमा होमिने पक्का भइसकेको छ ।
तर यही चुनावी माहोलकाबीच धनगढीका मेयर गोपाल हमाल उर्फ गोपी हमाल भने जनसेवामै लागि परेका छन् ।
धनगढीका मेयर गोपाल हमाल अहिले नगरबासीको समस्या बुझ्ने, समस्या सम्बोधन गर्ने र गाउँ गाउँमा विद्यार्थीहरुलाई छात्रवृत्ति बाँड्नमा व्यस्त छन् । हमालले यहीबीचमा धनगढी उपमहानगरपालिकाका ५ सय ७६ जना दलित छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गरेका छन् ।
हमाललाई अहिले फागुन २१ गते हुने भनिएको निर्वाचनको कुनै सुर्ता छैन । उनी बस्, आफ्नो कर्म अनुसार जनसेवामा लागि परेका छन् ।
त्यसो त हमालले अहिलेसम्म निर्वाचनका विषयमा कहिँकतै पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् । उनी निकट स्रोतका अनुसार पनि हमाल प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने सम्भावना निकै कम छ ।
५ वर्षका लागि जनताबाट निर्वाचित भएका मेयर हमाल ५ वर्षे कार्यकाललाई सुनौलो बनाउन तल्लीन छन् । उनी स्वयमले पनि आफूले ५ वर्षका लागि पाएको म्यान्डेड पूरा गर्ने बताउँदै आएका छन् । सम्पूर्ण देश निर्वाचनमय हुँदा हमालले नगर र नगरबासीप्रति देखाएको कर्मबोधले उनी जनतामाझ थप लोकप्रिय बनेका छन् ।
अर्कोतर्फ केही दिनअघि हमालले सार्वजनिक रुपमै ‘पैसा कमाउने भए व्यापार गर्नुस्, राजनीति होइन’ भन्दै अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिपछि हमाल आफ्नो कर्म र जिम्मेवारीप्रति पूर्णतः निष्ठावान् छन् भन्ने प्रमाणित गरेको थियो । त्यसैमाथि हाल देशभर उनीसँगै निर्वाचित स्वतन्त्र मेयर चुनावमा होमिँदा उनी एक्लै जनसेवामा लागि परेपछि मेयर हमाल पुन चर्चामा छन् ।




प्रतिक्रिया दिनुहोस्