राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले जनताको चाहना बमोजिम दुई नेता एक ठाउँमा उभिएको बताएका छन्।
रवि लामिछाने र बालेन शाहबीच आइतबार एउटै पार्टी बनाएर जाने सम्झौता भएपछि उपसभापति अर्यालले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उक्त सहमति जनताको चाहना बमोजिम भएको बताएका हुन्।
‘जनताको आशा र चाहना बमोजिम दुई नेता एक साथमा अब रास्वपामा,’ अर्यालले फेसबुकमा लेखेका छन्।
सम्झौतापछि रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने भनेर फेसबुकमा लेखेका थिए।
अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह अब रास्वपा नेता भनेर लेखेका छन्।
‘बालेन्द्र शाह: अब रास्वपा नेता,’ उनले लेखेका छन्, ‘आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकतासम्बन्धी सहमति भएको छ।’
शनिबार बेलुकी ७ बजेदेखि लगातार छलफलपछि बिहान रवि र बालेनबीच सम्झौतामा हस्ताक्षर भएको हो।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ।
पार्टीको सभापति रवि लामिछाने नै हुनेछन्। सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्लेख छैन।
तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ।
बृहत एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियानी एवं अनुभवी विज्ञलाई समायोजन गर्ने सहमतिमा उल्लेख छ। साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्