धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकतासम्बन्धी सहमति’ भएको छ। लामो समयदेखि चल्दै आएको रस्साकस्सीपछि आज बिहान ४:१५ बजे दुवै पक्षबीच औपचारिक रूपमा एकताको सहमति भएको हो।
सहमति पत्रमा २३ र २४ भदौमा सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइतेहरूले दिएको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै परिवर्तनकामी शक्तिहरूबीच सहकार्य गरेर राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ।
सहमतिअनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गरिनेछ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गरिने उल्लेख छ।
बृहत् एकतापछि पनि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहने र चुनाव चिह्नसमेत ‘घण्टी’ नै कायम हुने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ।
सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्। भने, आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने सहमति भएको छ।




प्रतिक्रिया दिनुहोस्