धनगढी । धनगढीमा अहिले भारतीय ट्याक्सीको रजगज छ । स्थानीय तह र प्रशासनको सहमतिको गलत व्याख्या गर्दै भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सीहरु नेपालमा आउने र अवैध रुपमा यतै बास बस्ने गरेका छन् ।
धनगढीको चौराहामा छुट्टै जग्गा पार्किङमा लिएर भारतीय ट्याक्सीहरु पार्किङ गरेर राखिन्छन् ।
यतिसम्म कि राती नेपालमै बास बस्ने ट्याक्सीहरु अवैध गतिविधिमा समेत प्रयोग हुनेगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यी ट्याक्सी अवैध रुपमा सामान ओसारपोसार गर्न, हुन्डिको कारोबार गर्न तथा अन्य आपराधिक गतिविधिका लागि प्रयोग गर्ने गरेको भेटिएको छ ।
तर स्थानीय प्रशासन भने उक्त गतिविधिबारे बेखबर थियो । धनगढीमा भारतीय ट्याक्सीको रजगजबारे कल २४ न्युजले समाचार सार्वजनिक गरेपछि अहिले भन्सार कार्यालय र स्थानीय प्रशासनले त्यसतर्फ चासो देखाएका छन् ।
कल २४ न्युजसँग कुराकानी गर्दै कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद आचार्यले भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सीलाई यात्रु छोड्न आउन छुट दिए पनि राती बास बस्ने छुट भने नदिएको बताएका छन् । उनले भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सी नेपालमै रात बिताउनु गैरकानूनी रहेको बताएका छन् ।
तर धनगढीमा पार्किङका लागि जग्गा नै भाडामा लिएर बसेको जानकारी आफूहरुलाई नभएको अर्यालको भनाई छ । उनले त्यसतर्फ निगरानी गर्ने र आवश्यक कारवाही अगाडि बढाउने पनि बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्