काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत दसैँ–तिहारको अवसरमा कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै भोलि (आइतबार)भित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्।
उनका अनुसार शिक्षा मन्त्रालयबाट दसैँअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो। तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन्।
‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब नदिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यहरूलाई नियमअनुसार कारबाही गरिनेछ,” पुनले बताएका छन्।
दसैँ तिहारजस्तो ठूलो चाडपर्वमा शिक्षकहरूलाई तलब नदिएर मानसिक तनावमा पार्नु दुखद भएको उनको भनाइ छ।
उनले लेखेका छन्,’तलब नख्वाउने प्रअहरुलाई सूचना- दसैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोली सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’
प्रतिक्रिया दिनुहोस्