काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोल्ने घोषणा गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिएका छन् ।
उनले आगामी चुनाव सम्पन्न गर्न शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिने बताए । सो क्रममा राजनीतिक कनेक्शनका आधारमा थन्किएका फाइलहरू खुलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । गृहमन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो, त्यस्तो अब हुँदैन ।’
उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन ।’
गत भदौ २४ गते जेनजी युवाको प्रदर्शनको क्रममा महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा क्षति पुगेको थियो ।
सो घटनाको अवलोकन गरेपछि गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा रोकिएका फाइलहरूको पुनः परीक्षण हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्