महेन्द्रनगर : भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले आफूले पाउने भत्ताको रकम ज्येष्ठ र बेसहारा नागरिकलाई वितरण गर्दै आएका छन् । भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवरले नौ वर्षदेखि निरन्तर भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन् । हरेक आर्थिक वर्षको पहिलो चौमासिक दसैँ–तिहारअघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले सोमबार भत्ता वितरण गरेका छन् । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका कुँवरले ०७४ देखि ०८२ सम्म निरन्तर भत्ता वितरण गरेका हुन् ।
‘मैले चुनावका वेला जनतासँग गरेको वाचाअनुरूप राज्यबाट पाउने भत्ता रकम हरेक वर्ष ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अति अशक्तलाई दामासाही हिसाबले वितरण गर्दै आएको छु,’ उनले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैयाँ पूरै ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई दसैँअघि वितरण गर्दै आएको छुु ।’ कुँवरले नौ वर्षमा झन्डै २५ लाखभन्दा बढी भत्ताबापत पाएको रकम वितरण गरिसकेका छन् । हरेक वर्ष एक सय ५० देखि एक सय ७० जना वडावासीले कुँवरबाट रकम पाउने गर्छन् ।
स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवा–सुविधा पनि जनप्रतिनिधिले जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन् । दलितको अधिकारका लागि लड्नेहरूले केही नगरे पनि वडाध्यक्षले दसैँ खर्च दिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्