काठमाडौँ : बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एप मार्फत आधिकारिक पत्र पठाएका हुन् । आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका हुन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाएका हुन् ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।
राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।
राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् । उनको राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्