काठमाडौं : भर्खरै प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ ।
ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो ।
स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ ।
बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् ।
धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बतायो ।
जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारिएको छ । संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्