काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले आन्दोलनकारीहरुले नै चाहेको आधारमा नै सरकार बन्ने तर संविधान अनुसार नै हुनुपर्ने उनको धारणा रहेको छ ।
‘आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरुले माग गरे अनुरुप उहाँहरुले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउनका निम्ति नेपाली कांग्रेस पार्टी तयार मात्र होइन, यसका निम्ति आवश्यक वातावरण पनि बनाइरहेको छ । त्यही सरकारले अगाडीको वातावरणलाई अगाडि बढाउँछ, निर्वाचन गराउँछ, अहिलेको छानबिनको काम, पुनःनिर्माणको कामको नेतृत्व गर्छ, एउटै कुरा छ कि यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौँ,’ उनले भनेका छन् ।
त्यस्तै अहिलेको अवस्थामा नेपालीहरुको घर, सरकारी संरचना, नेताहरुको घर मात्रै होइन सारा नेपालीको मन पनि जलेको उनले बताए । साथै त्यसलाई टाल्ने र चिर्ने काम आफूहरुले गर्ने विश्वास दिलाए ।
महामन्त्री थापाले अहिले कुनै पनि नेताहरुको घर बाँकी नरहेको भन्दै आगामी दिनमा त्रिपालमुनी बसेर पनि देश समृद्ध बनाउने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा जनताको विश्वासलाई आत्मसाथ गरेर अघि बढ्नु आवश्यक रहेको उनको धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्