जेनजीको भावना समेट्दै १६ नेताको संयुक्त वक्तव्य- संविधानसम्मत् सरकार गठन गरियोस्

काठमाडौं :  देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका १६ जना प्रभावशाली नेताहरूले जेन-जी (युवा) पुस्ताको तीव्र निराशा र बदलिँदो जनभावनालाई सम्बोधन गर्न संविधानसम्मत ढंगले अन्तरिम सरकार गठनका लागि जोडदार आह्वान गरेका छन् । बिहीबार साँझ एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी नयाँ मार्गचित्रका लागि पहलकदमी लिएका हुन् ।

विज्ञप्तिमा नेताहरूले जनताको निराशा बुझ्न र त्यसको समाधानका लागि पहलकदमीमा कमी भएको स्वीकार गरेका छन् । साथै, पार्टीभित्र लोकतान्त्रिक मूल्य र मान्यताहरू स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै आम जनतासँग क्षमायाचनासमेत गरेका छन् । यो कदमले परम्परागत राजनीतिको समीक्षा र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता देखाएको छ ।

Galaxy

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मिनेन्द्र रिजाल, देवेन्द्र पौडेल, गोकर्ण विष्ट, रामकुमारी झाक्री, अमनलाल मोदी, चन्द्र भण्डारी, जनार्दन शर्मा, एनपी साउद, राजकिशोर यादव, अमरेश सिंह, सुदन किराती, मिना तामाङ, सन्तोष परियार र प्रकाश ज्वाला छन् । यी नेताहरू फरक-फरक पृष्ठभूमिका भए पनि देशको वर्तमान अवस्थाप्रति समान चिन्ता व्यक्त गर्दै एकजुट भएका छन् ।

नेताहरूले आन्दोलनका क्रममा भएको जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिको नोक्सानी, र व्यक्ति केन्द्रित हमलाहरूको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन एक शक्तिशाली आयोग गठनको माग गरेका छन् । यसका अतिरिक्त, राज्यको उच्च तहमा रहेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।

वर्तमान संविधान संशोधन र परिमार्जनका विषयमा विभिन्न मतमतान्तर रहेको सन्दर्भमा, सबै सरोकारवालाहरूसँग परामर्श गरी संविधानमा गर्नुपर्ने सुधारहरू सिफारिस गर्नका लागि ‘संविधान पुनरवलोकन तथा सुधार आयोग’ गठन गरिनुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ । यसले संविधानलाई समयसापेक्ष बनाउने र जनचाहनाअनुरूप ढाल्ने बाटो खुल्ने विश्वास लिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिति समाधान गर्न, शान्ति सुरक्षा कायम गर्न र समाधानका लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार