काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । आलोचना दबाउन सरकारले यस्तो निर्णय लिएको प्रचण्डको आरोप छ ।
सरकारले बन्द गराएको भनिएको फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’
सामाजिक सञ्जाल बन्द गराउने निर्णय अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको प्रचण्डको भनाइ छ ।
उनले सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको जिकिर गरेका छन् ।
‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम भएको बताएका छन् ।
सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्दै प्रचण्डले भनेका छन्, ‘म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु ।’
यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गराउँदा पनि आलोचना खेप्नुपरेको थियो । सामाजिक सञ्जाल नियमन सम्बन्धी निर्देशिका २०८० प्रचण्ड नेतृत्वको सरकारले नै ल्याएको थियो । सो निर्देशिका बमोजिम टिकटक सञ्चार मन्त्रालयमा सूचीकरण भएपछि खुला भएको थियो । सूचीकरण हुन नमानेको भन्दै २०८२ भदौ १९ गते वर्तमान सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्