‘राजनीतिमा असफल भएपछि खाजाघर चलाइरहेछु’

बर्दिया — अचेल स्वदेशमा रोजगारी नपाएर दिनहुँ युवाहरू विदेशिने क्रम बढेको छ । कृषि क्षेत्रतर्फ युवाको आकर्षण खासै छैन । किनभने कृषि कर्ममा लाग्ने युवालाई सरकारले प्राथमिकतामै राखेको छैन । हामीजस्ता सर्वसाधारणले यहाँ बसेर जति कराए पनि सरकारले सुन्ने होइन ? 

अहिले म ५४ वर्षको भएँ । सवारी चालकको लामो अनुभव बटुलेर गाउँमै बसेर नयाँ व्यवसाय सुरु गरेको छु । अहिले गुलरिया नगरपालिका–८ सर्जुनदी टपरामा बसोबास छ । विपन्न परिवारको व्यक्ति भएकाले जहाँ गए पनि मिहिनेत नै गर्नुपर्दो रहेछ । सानोमा पढ्दा पढ्दै साथीहरूको लहलहैमा रोजगारीका लागि भारत पुगेँ । त्यहाँ गएर गाडी चलाउन सिकेँ । केही वर्ष उतै बसेर गाडी चलाउने काम गरेँ ।

Seti Hospital

स्वदेशमा मिहिनेत गर्छु भनेर आफ्नै ठाउँ फर्किएको हुँ । २०५४ सालबाट बर्दियादेखि काठमाडौं लामो दूरी तथा छोटो दूरीका यात्रुवाहक बस पनि चलाएँ । करिब ३५ वर्ष चालक भएर काम गरेँ । यस अवधिमा कमाएर छोराछोरीलाई पढाउनेबाहेक केही पनि गर्न सकिएन ।

आफ्नै गाउँठाउँको विकासका लागि केही गर्छु भन्ने सोचेर २०७९ सालको स्थानीय तहको निर्वाचनमा गुलरिया नगरपालिकाको उप–प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर राजनीतिमा होमिएको थिएँ । असफल भएँ । विभिन्न अनुभव बटुलेर अहिले आफ्नै ठाउँमा नयाँ स्वाद पस्कने उद्देश्यले खाजा तथा नास्ता पसल सुरु गरेको छु ।

गुलरिया नगरपालिका–७ र वडा नम्बर ८ को सिमानामा पर्ने सर्जुनदीको किनारमा मेरो कृपा खाजा तथा नास्ता पसल छ । नास्ता पसल संचालन गरेको पनि ७ महिना पुग्यो । खाजाघर नदीको किनार र आँप बगैंचामा भएकाले खासै गर्मीको आभास हुँदैन । दिनभरि कामले थकित भएका मान्छे साँझपख शान्त वातावरण, खुला हावा र प्राकृतिक मनोरम दृश्य अवलोकन गर्दै नास्ता खान यहाँ आउने गरेका छन् । शान्त र सुन्दर ठाउँ रोजेर गुलरिया बसपार्कको करिब ५ सय मिटर दक्षिणतर्फ सर्जुनदीको ढिकमा नास्ता पसल खोलेको हुँ ।

मेरो नास्ता पसल बिस्तारै सेवाग्राहीको रोजाइमा पर्दै गएको छ । शान्त वातावरणमा नास्ता खान मन पराउने सेवाग्राहीले सेवा गर्ने मौका दिइरहेका छन् । सर्जुनदीको किनारमा खाजा घर भएकाले अर्गानिक चाइनिज हाँस र लोकल कुखुरा आफैंले पालेको छु । अर्डर अनुसार चाइनिज हाँस र लोकल कुखुराका विभिन्न परिकार बनाएर ख्वाउँछु ।

अहिले साना ठुला गरेर एक सय चाइनिज हाँस छन् । नदीको ढिक भएकाले हाँस हुर्काउन सहज छ । अबको एक हप्तामा करिब ७५ वटा हाँसका बच्चा निस्कने तयारी अवस्थामा छ । दाना दिएपछि दिनभरि हाँस नदीमा खेल्छन् । अहिले हाँस बिक्री गर्न तयारी अवस्थामा छन् । ठूला हाँस २ देखि ३ किलोसम्मका छन् । त्यस्तै १५ दिनदेखि २० दिनका हाँसका एक जोडी बच्चा ५ सय रुपैयाँमा बिक्री हुन्छन् । हाँसको मासुका पारखीहरूले हाँस खोज्दै आउँछन् । हाँस प्रतिकिलो ६ सयका दरले बिक्ने गरेको छ । यस्तै लोकल, गिरीराज र फाइटर जातका करिब ८० वटा कुखुरा पनि पालेको छु । आउँदो दसैंसम्म लोकल कुखुरा तयार हुनेछन् ।

यस व्यवसायमा मेरी श्रीमती मीना परियारले साथ दिइरहेकी छन् । उनलाई सानोमा रुखबाट लडेर लागेको चोट अहिले उमेर ढल्किएपछि बल्झिएको छ । कम्मरमुनिको जोर्नी दुख्ने समस्या छ । दिनभरि हाँस, कुखुरा र बाख्रालाई घाँस र दानापानी दिनमै व्यस्त हुन्छु । उनको उपचारका लागि धेरै ठाउँ भौंतारिए । अस्ति भारतमा लगेर जाँच गराउँदा डाक्टरले अप्रेसन गर्न भनेका छन् । अप्रेसनका लागि झन्डै २ लाख भारु खर्च लाग्ने अनुमान छ ।

हामी बुढाबुढी, आमा, छोरी, छोराबुहारी र एक नातिनी गरी सात जनाको परिवार यसैको आयस्तामा निर्भर छौं । छोरी भारतमा अध्ययनरत छिन् । नास्ता पसल सुरुवाती भएकाले खर्च कटाएर दैनिक ६/७ सय कमाइ हुन्छ । पानीबाहेक सबै चिज किनेर खानुपर्छ । दाल, चामल, तरकारी, नुन, तेल, सर्फ, साबुन लत्ताकपडामा मासिक १० हजार बढी खर्च लाग्छ ।

व्यवसायका लागि ५ कठ्ठा जग्गा वार्षिक १२ हजार रुपैयाँमा ५ वर्षका लागि भाडामा लिएको छु । हाँस र कुखुराका लागि दानामा मासिक २० हजार खर्च हुन्छ । व्यवसायका लागि खाजा घरलगायत अन्य संरचना बनाउँदा सहकारीबाट करिब ८ लाख ऋण लिएको छु । जसको मासिक करिब २५ हजार किस्ता बुझाउनुपर्छ । जसोतसो घरखर्च चलाउँदै श्रीमतीको अप्रेसनका लागि खर्च जुटाउन संघर्ष गरिरहेको छु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार