काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपटक आफ्ना समर्थकहरुको दमदार उपस्थितिलाई प्रमाणित गरेको छ ।
क्यानले लगातार दोस्रो पटक आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जित्न सफल भएको छ ।
सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को वार्षिक कन्फ्रेन्सका अवसरमा नेपाललाई सो अवार्ड प्रदान गरिएको हो । आइसिसीका प्रमुख जय साहले नेपाल क्रिकेट संघलाई औपचारिक रुपमा सम्मानित गरे ।
नेपालले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूसँगको सक्रिय संलग्नतालाई मजबुत बनाउँदै आएको भन्दै आइसिसीले नेपाललाई उच्च मूल्यांकन गरेको हो ।
यस अवार्डमार्फत नेपाली क्रिकेटको बढ्दो लोकप्रियता र समर्थकहरूको अपार समर्थन पुनः एकपटक विश्वमाझ छर्लंग भएको छ ।
यसअघि नेपालले एसिया क्षेत्रीय अवार्ड जितेको थियो । त्यसपछिको प्रतिस्पर्धामा अन्य क्षेत्रीय विजेताहरूलाई पछि पार्दै नेपालले ग्लोबल अवार्ड जित्न सफल भएको हो ।
कन्फ्रेन्समा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का सहभागी थिए ।
यो उपलब्धिले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय छवि थप बलियो बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्