काठमडौं- सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रवार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सह–प्रवक्ता शैलेन्द्र थापाले आज बिहान जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको जानकारी दिए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहिवार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
उनीहरुसहित ५६ जनाको टोली बिहीवार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएका थिए । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनीहरु बेपत्ता भएका थिए ।
सो क्रममा दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका हुन् ।
उनीहरुको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।
उहाँहरुको खोजी कार्यलाई तीव्रता दिइएको छ । शुक्रवार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि विजय हमालको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपि विपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँच जना गोताखोरलाइ बिहीबार राति १०ः४५ बजे त्यसतर्फ पठाइएको जानकारी दिनुभयो । २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यस यता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् ।
उनले घटनास्थल, पानीको बहाब र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताएका छन् । यो तालिम नभइ मनसुनजन्य विपद् उद्धारको पूर्व तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देशभरि नै भइरहेका छन् । बेपत्ता भएका उनीहरु दुबै जनाले २०८०र८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्, त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए तर उनीहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभइ तीनरचार दिनको उद्धार अभ्यास हो ।




प्रतिक्रिया दिनुहोस्