काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा कांग्रेस-एमाले गठबन्धन सरकारले भुलेको बताएका छन् ।
कांग्रेस र एमाले सरकार चलाउन मस्त हुँदा संविधान संशोधनको मुख्य वाचा नै बिर्सिएको उनको भनाइ छ ।
बाँके क्षेत्र नम्बर–२ को सम्मेलनलाई मंगलबार सम्बोधन गर्ने क्रममा थापाले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने उनले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा रहेका कमजोरी सुधार्ने कांग्रेसले जिम्मा लिएर नागरिकलाई भन्न सक्नुपर्ने उनले बताए ।
‘कांग्रेसले नागरिकलाई भन्नुपर्दछ, बाटो खराब होइन । हामीले रोजेको नयाँ बाटो हो । बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ,’ थापाले भने, ‘गाडीलाई चालकले ठीक तरिकाले चलाइरहेको छैन भने चालकलाई बदलिदिनु पर्दछ ।’
गाडीको चालक परिवर्तन गर्न नखोजेर बाटै नयाँ खोज्नुतिर लाग्न नहुने उनले बताए ।
यही व्यवस्थाभित्र नागरिकको अपेक्षा सम्बोधन गर्न सकिने भरोसा कांग्रेसले दिनसक्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दनुहोस्