काठमाडौं : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै उनीप्रति राजनीतिक दलहरूले देखाएको सदाशयता हो भनेर बुझ्नुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले राजावादीको पछिल्लो सक्रियताबारे ब्रिफिङ गर्दै विगतमा राजतन्त्रले जनतालाई दिएको दुःखका बारेमा जनतालाई पुनःस्मरण गराउनुपर्ने बेला भएको बताएका थिए । २०६२÷६३ को जनआन्दोलनको सम्झना गर्दै उनले अगाडि भने, ‘दोस्रो जनआन्दोलन केही दिनमात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपथ्र्यो । तर हामीले सदाशयता देखायौं । अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन । संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’
राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको भन्दै देउवाले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएका थिए । देउवाले अहिलेको जस्तो स्वतन्त्र र उन्नत व्यवस्था अर्को नभएकाले अब कांग्रेसले पनि गणतन्त्रका पक्षमा गाउँसहर देशैभरि जागरणसभा गरेर जनतालाई झकझक्याउने बेला भएकोले त्यसतर्पm ध्यान दिन पदाधिकारीलाई आग्रह गरेका थिए ।
देउवाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘अहिलेको भन्दा उन्नत व्यवस्था अर्को नभएकोले गणतन्त्रको पक्षमा काठमाडौं र प्रमुख सहरमा जागरणसभाका कार्यक्रम गरेर जानुपर्ने बेला भएको छ भनेर सभापतिजीले बोल्नुभएको छ । कहिलेदेखि जाने भनेर मिति भने तय भइसकेको छैन ।’ विगतमा संवैधानिक राजा मान्दा पटकपटक धोका पाएको भन्दै कांग्रेसले अब कुनै पनि प्रकारको राजसंस्थाको पक्षमा नउभिने पनि स्पष्ट पारेको छ ।
पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको घेरालाई गैरसंवैधानिक तरिकाले तोड्ने भनेको अराजकहरूले मात्र भएकाले त्यो झुन्डलाई केही गर्न नसकिने बताउँदै भने, ‘संविधानमा केही सुधार गर्नुपर्नेछ भने जनप्रतिनिधिले नै गर्ने हो । तर, संविधानको घेरालाई गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित छ’, बैठकपछि महतले भने, ‘नेपालको संविधान कसैले दिएको होइन । हामी प्रतिनिधिले बनाएका हो । यसको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । हामी नै गर्छौं । यसमा कसैले अनावश्यक भीड जम्मा गर्नु आवश्यक छैन ।’ विगतमा राजाबाट धोका भएकाले फेरि स्वीकार्न सक्ने आधार नभएको बताए ।
उनले भने, ‘हिजो हामीले संवैधानिक राजा मानेको, हिजो पटकपटक धोका दिएकाले फेरि धोका खाने पक्षमा कांग्रेस छैन । भोलि फेरि धोका हुँदैन भन्ने आधार छैन । राजतन्त्र फर्काउने पक्षमा कांग्रेस छैन । धर्म, संस्कृति संरक्षण गर्ने कुरा संविधानमा पनि लेखिएको छ । यस विषयमा भोलिको दिनमा थप छलफल होला ।’
उनले राजावादीहरूलाई बोल्न र प्रदर्शन गर्नको लागि छुट दिएको भन्दै अगाडि भने, ‘राजावादीहरूको विगतलाई हेर्नुस् । प्रदर्शन गर्न कुनै अवरोध नगरेको बताए । उनले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित भएको कांग्रेसको ठम्याइँ छ ।’ बैठकमा सभापति देउवाले राजावादीहरू योजनाबद्ध ढंगले आएकोले गम्भीर हुनुपर्ने बेला भएको प्रति पनि सजग हुनुपर्ने बताएका थिए ।
राजावादीहरू सतर्कता अपनाउँदै, गम्भीर ढंग र योजना बनाएर लागेका छन् । देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हामीले पनि यस विषयमा गम्भीर हुनुपर्यो ।’
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको बैठकले गणतन्त्रको पक्षमा काठमाडौंमा आमसभा गर्ने निर्णय पनि गरेको बताए । उनले भने, ‘संविधानको पक्षमा सभा गर्ने भन्ने प्रस्ताव अधिकांश पदाधिकारीले लगेकाले बैठक गर्ने कुरा भने भएको छ । तर मिति भने तोकिएको छैन ।’ बैठकमा पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
गृहमन्त्रीले राजीनामा दिनुपर्दैन
कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने कुरा पुनः स्पष्ट पारेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
उक्त विषयमा बैठकमा उठेका विषयमा बोल्दै प्रवक्ता महतले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन । आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ । उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने मागचाहिँ उपयुक्त भएन । हिजो रवि लामिछानेको विषयमा प्रमाणसहित आउँदा पनि हामीले राजीनामाको सट्टा छानबिन समिति माग गरेका हौं । सीधा आरोप थियो ।’
प्रवक्ता महतले अख्तियार संवैधानिक निकाय भएकाले हस्तक्षेप गर्न नसक्ने हुँदा राजीनामा दिनु नपर्ने निष्कर्षमा कांग्रेस पुगेको बताए ।
प्रतिक्रिया दनुहोस्