काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सोडारीले सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ साल फागुन १० गतेसम्मको आम्दानी, खर्च र बचतलाई तुलना गर्दा १ करोड ८ लाख ३८ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार जाँच अवधिमा ८५ लाख ५१ हजार ३ सय रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ । तर त्यही अवधिमा १ करोड ९३ लाख ८९ हजार ६ सय रुपैयाँ खर्च लगानी तथा बचत गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
सोडारी कैलाली क्षेत्र नम्बर ४ (१) मा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सांसद हुन् । सोडारी २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ साल माघदेखि २०७५ साल कात्तिकसम्म प्रदेशको सामाजिक विकासमन्त्रीको जिम्मेवारीमासमेत थिए । त्यस्तै उनी २०७८ साल जेठ १४ गतेदेखि २०७९ साल मङ्सिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।
पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गैरकानूनी रूपमा आर्जित सम्पत्ति श्रीमती र छोराका नाममा समेत राखेको पाइएकोले उनीहरूलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्