काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर देशको भविष्य सुनिश्चित हुन नसक्ने बताएका छन् । १३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटनपछि आयोजित छलफलमा प्रधानमन्त्री ओलीले राजावादीको ‘राजा फर्काउने’ आन्दोलनलाई लक्षित गर्दै मुलुकको कुण्डलीभन्दा एउटा व्यक्तिको कुण्डली ठूलो हुन नसक्ने बताएका हुन् ।
मुलुकले अहिले विकास र समृद्धि खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रको कुण्डली हेरेर नेपालका बारेमा भविष्यवाणी नगर्न पनि ज्योतिषीहरूलाई कटाक्ष गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र परिवर्तन नहुने व्यवस्था भएको पनि ज्योतिषीहरूलाई ख्याल रहोस्,’ उनले भने ।
‘अहिले स्थिर सरकार रहने कुण्डली छ, त्यो हेर्नु पर्दैन ? नेपालको कुण्डली हेर्नुपर्यो नि, त्यो हेर्ने हो भने स्थिरता, स्थायित्व, विकास । त्यो पो छ त देशको कुण्डलीमा । देशको कुण्डलीभन्दा एउटा व्यक्तिको कुण्डली ठूलो हुन्छ ?,’ ओलीले भने ।
सरकार परिवर्तन र व्यवस्थाका सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका ‘राजावादी’ जगमान गुरुङले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्रीले आलोचना गरेका छन् ।
‘यो सरकार परिवर्तनका लागि सिजन चाहिँदैन, यसमा कुनै गुरुङ गुरुजीले ग्रहदशा हेर्नु पर्दैन, सरकार परिवर्तन भनेको पोलिटिकल म्याटर हो,’ उनले भने, ‘मैले अस्ति एक ठाउँमा भनें– ज्योतिषीले ज्ञानेन्द्र शाहको कुण्डली हेर्नुभयो रे, खोइ के–के देख्नुभयो त्यहाँ ? एक जनाको कुण्डली हेरेर देशको भविष्यका बारेमा बोल्ने ? अर्काको कुण्डली हेर्नु पर्दैन ? अर्काको कुण्डली के छ ? व्यवस्थाको कुण्डली के छ ? ढल्दै नढल्ने व्यवस्थाको कुण्डली छ, उहाँले व्यक्तिको कुण्डली हेर्ने ?’

प्रधानमन्त्रीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने पनि अडान राखेका छन् । गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्रीले उनीहरूको आरोप पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताएका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए । गृहमन्त्रीमाथि कुनै आरोप र छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो । ‘गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन, कुनै मुद्दा मामिला पनि भएको छैन, यो कुनै इस्यु होइन,’ उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग गर्नु नितान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन, गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यस कारण गर्नु हुन्न ।’

प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउन गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको प्रधानमन्त्रीको भनाइ थियो । ‘एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक छैन,’ ओलीले भने ।
अर्को फरक प्रसंगमा उनले सत्तारूढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न र पार्टीभित्रका कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाएका छन् । गृहमन्त्री लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त कटाक्ष गरेका हुन् ।
सबै पार्टीभित्र समस्या हुन सक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने उनको भनाइ थियो । ‘पार्टीभित्र केही समस्या हुन सक्छ । त्यो पार्टीको समस्या हो । व्यक्तिगत लाइक वा डिस्लाइकभन्दा पनि पार्टीभित्रका वैयक्तिक आकांक्षाले ध्रुवीकरण अथवा अरू कुनै कारणले केही हुन सक्छ । तर दल र दलका नेताहरूले घरझगडा घरभित्रै बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने ।
पार्टीभित्रको विवाद समाधानको तरिका अपनाउन पनि उनले कांग्रेसलाई आग्रह गरे । ‘तपाईंको घरझगडा छ भने घरभित्र बसेर गर्नुस्, मजाले गर्नुस् । कुटाकुटचाहिँ नगर्नुहोला । तर आँगनमा निस्केर वल्लो छिमेकी पल्लो छिमेकी सबैको काममा डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने, ‘के भयो, के–के न होला भनेर त्यहाँ दर्शक भएर हेर्नु पनि पर्ला, कुटाकुट गरे मारामार गरे भने त छुट्याउन जानुपर्ने अवस्था होला । त्यसो भएकाले आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन ।’
घरभित्र विवाद गर्दा नपुगेर सार्वजनिक अभिव्यक्ति र वादविवादमा उत्रिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘घरभित्रको आवाजले पुगेन भनेर बाहिरै प्रसारण गर्ने गरी आवाज निकाल्नुपर्यो ? भयंकर ध्वनि प्रदूषण, वातावरण प्रदूषण, सामाजिक वातावरणको प्रदूषणदेखि अनेक चिज हुन्छ । यस्तो किन गर्छन् भन्ठान्छु, यो कसैले नगरौं,’ उनले भने ।
विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न पनि उनले कांग्रेस नेताहरूलाई सुझाव दिए ।
प्रतिक्रिया दनुहोस्