खोटाङको दिखुवा खोलामा मोटरेबल पुल बनेपछि दिक्तेलबाट पूर्वी तराईसम्मको यात्रा सहज हुने भएको छ। सदरमुकाम दिक्तेललाई पूर्वी तराई बजारसँग जोड्ने छोटो बाटोको अवरोध बनेको दिखुवा खोलामा नयाँ पुलको सिलान्यास आइतबार भएको छ।
दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक खण्डमा पर्ने दिखुवा खोलामा बन्ने पुलको सिलान्यास प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले गरेका छन्। मझुवागढी-४ को खाल्ले र १५ को विजयखर्कबीचको सीमामा रहेको यो खोलाले हरेक वर्षायाममा ३-४ महिना यातायात अवरुद्ध बनाउँदै आएको छ।
मन्त्री राईले पुलसँगै सडक स्तरोन्नतिका लागि पहल गरिरहेको बताएका छन्। उनले भने, ‘पुल र सडक स्तरोन्नति भएपछि दिक्तेलबाट सोझै पूर्वी तराईसम्म यातायात आउजाउ गर्न छोटो र सहज हुन्छ।’ प्रदेश सडक पुल सहयोग एकाइ कार्यालय इटहरी मातहत पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गर्ने ट्रस प्रविधिको यो पुलका लागि प्रदेश सरकारले करिब ५ करोड ५० लाख लगानी गर्नेछ।
भौतिक पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख ललितकुमार चौधरीले भने, ‘पुलका लागि आवश्यक स्टिल ट्रस प्रदेश सडक पुल सहयोग एकाइले उपलब्ध गराउँछ, निर्माण कार्य भने हाम्रो कार्यालयबाट हुन्छ।’ यसका लागि २ करोडभन्दा बढीको स्टिल ट्रस तयार गरेर निर्माणस्थलमा पुर्याइसकिएको छ। स्टिल ट्रस उपलब्ध भएपछि पिलर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालयले गर्नेछ। त्यसका लागि टेन्डर आह्वान गर्ने तयारी छ।
पुलको सिलान्यास भइसकेकाले अब छिट्टै टेन्डर आह्वान गरेर निर्माण कार्य सुरु हुनेछ। मन्त्री राईले गएको फागुनदेखि नै पुल निर्माणका लागि पहल थालेका थिए। उनले प्राविधिक टोलीसहित आएर निर्माणस्थलको अध्ययन, डिजाइन र लागत अनुमान गराएर टेन्डर प्रक्रियासहित सिलान्यास गरेका हुन्।
स्टिल ट्रस जडान गरेर निर्माणस्थलमा ल्याउन थालिएको छ। मन्त्री राईले आगामी ६ महिनाभित्र पुल निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। दिखुवामा पुल बनेपछि कालोपत्रे भइसकेको दिक्तेल-महुरे खण्ड २० किलोमिटर र कालोपत्रे भइरहेको महुरे-राजापानी-रेग्मीटार २९ किलोमिटर गरी दिक्तेलदेखि रेग्मीटारसम्मको ५९ किलोमिटर सडकमा दिक्तेल-तराई आउजाउ सहज हुनेछ।
निर्माणाधीन गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गभन्दा दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक १७.५ किलोमिटर छोटो छ। तर, दिखुवामा पुल नहुँदा जिल्लाबासी लामो घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए। दिक्तेल रुपाकोट मझुवागढी-४ खाल्लेको आहालेदेखि हलेसी तुवाचुङ-११ राजापानी घर्तीभिरसम्म र सगरमाथा लोकमार्गको दिक्तेल-गाईघाट सडक रेग्मीटारदेखि घर्तीभिरसम्म नयाँ ट्र्याक पहिले नै खोलिसकिएको छ।
घर्तीभिरमा ठूलो चट्टानका कारण रोकिएको काम हाल सुचारु भएको छ। सगरमाथा लोकमार्गको विकल्पका रूपमा हेरिएको यो सडकमा हलेसी तुवाचुङ-११ राजापानी पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन भइरहेको छ। दिखुवामा पुल बनेपछि दिक्तेल-खानीडाँडा-रेग्मीटार खण्डमा नियमित यातायात सञ्चालन हुने र तराईका सहर-बजारबाट खोटाङमा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज हुने खोटाङ उद्योग वाणिज्य सङ्घले जनाएको छ।
प्रतिक्रिया दनुहोस्