प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए : झलनाथ खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए । 

Seti Hospital

उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताए । उनले शिक्षकका मागहरू सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए ।  

शिक्षामा प्रगतिशील परिवर्तनको कुरा कहाँ गयो ? भन्दै प्रश्न गरे । उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्ने कुरा सोच्न नसकिने बताए । 

पूर्व प्रधानमन्त्री खनालले भने, ‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाइ लाख शिक्षकहरू अहिले आन्दोलनमा छन् । सडकमा छन् । तर ती शिक्षकहरूको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन् । अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । उनी शिक्षकहरूको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो । हामीले शिक्षामा प्रगतिशील परिवर्तन गर्छौँ भनेका थियौँ । कुरा कहाँ गयो ।’

पूर्व प्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको उल्लेख गरे । केही दिनअघिसम्म कांग्रेसको पिठ्यँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए । 

उनले कांग्रेसको बुई चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको बताए । नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको लोभमा सरकारमा सहभागी भएको भन्दै यसबारेमा समीक्षा जरुरी रहेको बताए । 

पूर्व प्रधानमन्त्री खनालले भने, ‘हामीले जबसम्म एउटा लक्ष्य प्राप्त गर्ने संकल्पबद्ध रूपमा संगठन निर्माण गर्न सक्दैनौँ, तबसम्म क्रान्ति हुन सक्दैन । अहिले संघर्ष अनिवार्य छ । हामीले नगर्दा पनि संघर्ष सुरु भइसकेको छ । शिक्षक, विभिन्न आन्दोलनहरू भइरहेका छन् यसलाई नेतृत्व गर्ने नेता देशमा छैन । कम्युनिष्ट आन्दोलन कस्तो भयो ? नेकपा एमाले भन्ने सबैभन्दा ठुलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ । तर त्यो घमण्डको कुरा नेपाली कांग्रेसको पिठ्युँमा बसेर बोल्छ । दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बाेल्छ । जो सुधारवाद बाहेक केही पनि जान्दैन । यो घोर दक्षिणपन्थी कुरा हो । एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन् । अनि अहिले बाहिर आएर अलिकति कुराहरू गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ । अवसरवाद पो हो की ? हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो ? सबैले मूल्यांकन गरौँ त । यी सबैको  समीक्षा गर्नुपर्छ । ’

पूर्व प्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकताबद्ध हुने दाबी गरे ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार